भीरकोट नगर अस्पतालमा बाल रोग विशेषज्ञ सेवा थप

भदौ १६, २०७९


नारायण प्रसाद कोइराला
१६ भाद्र २०७९

भीरकोट नगर अस्पतालमा बाल रोग विशेषज्ञ सेवा थप गरिएको छ। साबिकको कालिका सामुदायिक अस्पताल पूर्ण रूपमा नगरपालिकाको स्वामित्वमा आइसकेपछि अस्पतालको सेवा विस्तार गरिएको नगर स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालले जानकारी दिनुभयो । अस्पताल गत जेठ २४ गते देखि नगरपालिकाको पूर्ण स्वामित्वमा आएको पालिकाले जनाएको छ ।

मेडिकल अफिसर डा. मुक्ती बगाले

बालरोग विशेषज्ञ डा. बिनोद गैरे

मेडिकल अफिसर डा. मुक्ती बगाले, दन्त रोग विशेषज्ञ डा. सन्तोष पौडेल र बाल रोग विशेषज्ञ डा. बिनोद गैरे सहित २१ जना दक्ष जनशक्तिले बिरामीहरूलाई सेवा प्रदान गरिरहेको अस्पताल प्रशासन प्रमुख छायादत्त रेग्मीले बताउनुभयो ।

बिरामीलाई उपचार गर्दै दन्तरोग विशेषज्ञ डा. सन्तोष पौडेल

१५ शैय्याको स्वीकृति रहेको नगर अस्पतालमा चौबिसै घण्टा इमर्जेन्सी ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, इसिजी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, दन्तरोग सेवा, अक्सिजन सेवा, नेबुलाइजर सेवा नियमित रूपमा संचालन भैरहेका छ्न् । नयाँ आर्थिक वर्ष सुरू भएपछि आजसम्म २१५ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

नगर अस्पतालको फार्मेसी

भीरकोट नगर अस्पतालबाट गण्डकी अस्पताल पोखरामा रिफर गरिएका बिरामीहरूले २५ प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ । अस्पताललाई पहिलो सेवा केन्द्र कायम गरि निकट भविष्यमै स्वास्थ्य बीमा सेवा सुरू गर्न लागिएको नगर स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो । अस्पताल नगरको स्वामित्वमा आएसँगै सेवा सुविधा थप गर्दै जाने  सेवा प्रवाहलाई गुणस्तरीय बनाइने पालिकाले जनाएको छ। अस्पताल व्यवस्थित भएसँगै अब जटील बाहेक  सामान्य  प्रकृतिका रोगको औषधि उपचारको लागि पोखरा पाल्पा जानुपर्ने बाध्यता हटेको छ।

भिडियो एक्सरे मेसिन