सुदृढ बन्दै भीरकोट नगर अस्पताल।

भदौ १८, २०७८


भाद्र १८, भीरकोट खबर डेस्क

आर्थिक अभाव र विरामीको न्यून चापका कारण संचालन हुन नसकेर थला परेको कालिका सामुदायिक अस्पतालको व्यवस्थापन भीरकोट नगरपालिकाले सम्हालेपछि अस्पतालमा बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुक्ति बगालेका अनुसार अहिले स्वास्थ्यकर्मीहरूलाई बिरामीहरूको उपचार गर्न भ्याइ-नभ्याई छ । भीरकोट नगरपालिकालाई हस्तान्तरण गरेपछि भीरकोट नगर अस्पताल नामाकरण गरिएको यो अस्पताल अहिले व्यवस्थित र सुदृढ बन्दै गएको छ । चौबिसै घण्टा स्वास्थ्यकर्मी सहितको राम्रो उपचार सेवा पाएकोमा सेवाग्राही पनि सन्तुस्ट छन् । अस्पताल व्यवस्थित भएसँगै सामान्य उपचारका लागि पनि स्याङ्जा-पोखरा जानुपर्ने समस्याको अन्त्य भएको छ ।

केहि समय अगाडी कोभिड १९ को बढ्दो असर रहेको बेला राष्ट्रिय आविष्कार केन्द्र र भीरकोट नगरपालिकाको सहकार्यमा मिनि अक्सिजन प्लान्ट समेत स्थापना गरिसकिएको यो अस्पताल जिल्लाको मध्यभाग भीरकोट नगरपालिका वाड नं. १ हेलु, स्याङ्जामा अवस्थित छ । अस्पतालमा १ जना मेडिकल अफिसर, ६ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, २ जना अ.हे.ब, १ जना ल्याब असिस्टेन्ट, प्रशासन शाखामा २ जना, सहयोगी २ जना, सुरक्षा गार्ड २ जना सहित २० जना कर्मचारी कार्यरत छन् । यस अस्पताल बार्थिङ सेन्टरको रुपमा स्थापना नभैसकेको भएतापनि केही दिन अगाडि मात्रै अस्पतालका दक्ष मेडिकल अफिसर तथा स्टाफ नर्सको सहयोगमा दुई जना महिलाहरुको सफल आकस्मिक प्रसुती गराइएको थियो । अस्पतालमा सम्पूर्ण खोप सेवाका साथमा इन्टेजिन मार्फत निशुल्क कोराना परिक्षणको व्यवस्था समेत छ ।

भीरकोट खबरका संवादकले अस्पतालको भावी योजना के छ त भन्ने प्रश्नमा नगर प्रमुख छायाराम खनालले बिरामीको चाप र जनताको आवश्यकता अनुसार सेवा विस्तार गर्दै पूर्ण क्षमतामा संचालन गर्ने योजना बनाइएको बताउनु भएको छ । साथै प्रदेश सरकारले यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्नका लागि पनि बजेट छुट्याएको छ। कोभिड १९ को पहिलो लहरको बेला भीरकोट नगरपालिककै अग्रसरतामा यस अस्पताललाई स्याङ्जा जिल्लाकै प्रमुख कोभिड आइसोलेसन सेन्टरको रूपमा पनि प्रयोग गरिएको थियो ।