भीरकोट नगर अस्पतालमा संचालक समिती गठन

पुष ०२, २०७९


स्मार्ट संवाददाता, भीरकोट
२ पुस २०७९

    बिज्ञापन

विज्ञापन

भीरकोट नगरपालिकाको मातहतमा रहेको भीरकोट नगर अस्पतालमा अस्पताल संचालक समिती गठन गरिएको छ। शनिबार अस्पतालमा बसेको जनप्रतिनिधि र सरोकारवालाको संयुक्त भेलाले नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यको अध्यक्षतामा अस्पताल संचालक समिती गठन गरेको हो।

नगर अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन र विपन्न स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गर्न १३ सदस्यीय अस्पताल संचालक समिती गठन गरिएको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो। नवगठित संचालक समितिमा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, अस्पताल प्रशासन प्रमुख, सम्बन्धित वडाको र छिमेकी वडाको वडा अध्यक्ष, नगर उपप्रमुख , समाजसेवी र व्यवसायीहरूलाई समेटिएको छ। नवगठित समितिमा वडा नं ७ का अध्यक्ष तारा प्रसाद अर्याल, वडा नं १ का अध्यक्ष दिपेन्द्र के.सी., स्थानीय समाजसेवी तोयानाथ अर्याल,मीन प्रसाद कोइराला, श्याम प्रसाद अर्याल, गोकुल अधिकारी, व्यवसायी भविश्वर कोइराला हुनुहुन्छ।

भीरकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त समन्वयमा अस्पताल संचालन गर्ने समझदारीपत्रमा पालिका प्रमुखहरू गोबिन्द कुमार कर्माचार्य र प्रकाश तिवारीबिच हस्ताक्षर भएको भएपनि नवगठित संचालक समितिमा अर्जुनचौपारी गाउँपालिकाको कसैलाई पनि समेटिएको छैन। कोरोना महामारीको समयमा जिल्लाभरिकै विरामीलाई सेवा प्रदान गरेको यो अस्पतालको संचालक समितिमा पुतलीबजार नगरपालिकाको पनि कसैलाई पनि समेटिएको छैन।सिद्धार्थ राजमार्गबाट अस्पतालमा जाने सडक मार्गको अवस्था पनि एकदमै नाजुक छ भने अस्पतालमा नियमित रूपमा डाक्टरको सेवा उपलब्ध नहुँदा बिरामीहरूलाई स्याङ्जा वा पोखरा रिफर गरिहाल्नुपर्ने बाध्यता छ।