बाँदर नियन्त्रणका उपाय सहित ११ वटै पालिकामा ज्ञापन पत्र

असार ०७, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा
७ असार २०८०

देशैभर किसानहरू बाँदर आतंकको सिकार भैरहेका छ्न्। “काम गर्ने कालु मकै खाने भालु” भनेजस्तै किसानहरूले लगाएको अन्नबाली र तरकारी बाँदरले सत्यानाश पारेर हैरान पारेका छ्न्।स्याङ्जाको सबैपालिकामा बाँदर आतंक छ। किसानहरू बाँदर कुर्नकै लागि दिनभरी पालो लगाएर कुरेर बस्दा पनि बालीनाली जोगाउन सकेका छैन्।बाँदर आतंककै कारण कृषिमा परनिर्भरता झन बढ्दै गएको छ।

विशेषगरी गाउँघरमा फैलिएको बाँदर आंतक नियन्त्रण गर्न र कृषकलाई राहत दिन राष्ट्रिय संकल्प अभियानले स्याङ्जा जिल्लाका ११ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। “बाँदर आंतक नियन्त्रणका लागि विज्ञको सुझाव सहितको ज्ञापनपत्र स्याङ्जाका ११ वटै पालिकामा बुझाएका छौं।” राष्ट्रिय संकल्प अभियान नेपालका अभियान्ता दुर्गादत्त भुसालले  भने। उनका अनुसार स्याङ्जाका १० वटा पालिकामा यही असार ६ गते इमेलमार्फत ज्ञापनपत्र बुझाइएको हो । भीरकोट नगरपालिकामा भने भुसालले नेतृत्व गरेको कृषकहरूको समुहले नगर प्रमुख गोविन्द कुमार कर्माचार्यलाई ज्ञापनपत्र बुझाएको हो। ” बाँदर आतंक नियन्त्रण गर, बाँदरको व्यवस्थापन गर, कृषकलाई क्षतिपूर्ति देउ” लगायतका नाराहरू लेखिएका प्लेकार्ड सहित स्थानीय कृषकहरूले नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए। जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश र केन्द्रमा पनि ज्ञापनपत्र बुझाउने तयारी भैरहेको उनले बताए।

“कृषि प्रधान देश भनिए पनि स्थानीय, प्रदेश र संघले बाँदर आंतक नियन्त्रणलाई प्राथमिकतामा राखेका छैनन्। निर्वाहमुखी र व्यवसायिक खेती गर्ने सबै बाँदर आंतकबाट पिडित छ्न्। स्थानीय सरकारले बाँदर नियन्त्रणका लागि गरेका प्रयासहरू परिणामुखी र सार्थक हुन सकेका छैनन् ।” अभियान्ता भुसालले भने , ” वास्तविक कृषकको समस्या सधैं ओझेलमा परेकाले बाँदर नियन्त्रणका लागि स्थानीय तह देखि केन्द्रसम्म दबाब दिन ज्ञापनपत्र बुझाएका हौँं।”

भीरकोट नगरपालिकाले आ.व. २०८०/८१ को नीति तथा कार्यक्रममा बाँदर आतंक नियन्त्रणका लागि सम्बन्धित सबै निकायसँग सहकार्य र समन्वय गर्ने उल्लेख गरेको छ। बाँदर नियन्त्रणका लागि पालिकाले यस अघि स्थानीय स्रोत र साधनबाट निर्मित पाइपको बन्दुक निशुल्क वितरण गरेको थियो। तर नियन्त्रणका लागि गरिएका प्रयास अहिलेसम्म सार्थक हुन सकेका छैनन्।