प्रविधिको प्रयोगले खेतीपातीको काम सहज बन्दै
भीरकोट खबर डेस्क, २६ कार्तिक २०७८
भीरकोटमा खेतीपातीको काममा आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोगले खेतीपातीको काम सहज बन्दै जान थालेको छ । ग्रामीण सडकको विस्तारले गर्दा किसानहरूले आफूले चाहेको ठाउँमा हाते ट्रयाक्टर, ट्रयाक्टर र थ्रेसर प्रयोग गर्न पाएका छ्न् ।
भीरकोटका कृषकहरूले धान, गहुँ, मकै, मुसुरो लगायतका खेती लगाउन र भित्र्याउन ट्रयाक्टर र थ्रेसरको प्रयोग गर्न थालेका छ्न् । ट्रयाक्टर जान नसक्ने ठाँउका टारी-बारीलाई लक्षित गरी कृषकको माग र आवश्यकता अनुसार भीरकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गर्दै आएको छ । कृषकहरूलाई ट्रयाक्टर मर्मत गर्न सहज होस भनेर नगरपालिकाले मर्मत सम्बन्धि तालिम पनि प्रदान गर्दै आएको छ ।
अहिले सबै किसानहरु धान काट्न र भित्र्याउनमा ब्यस्त रहेका छन । करिब पाँच वर्ष भन्दा पहिलासम्म राती देखि नै उठेर दमेराहरु जम्मा भएर गोरु नारेर धान चुटेर, दाँइ हालेर राती अबेरसम्ममा घरमा धान भित्र्याउने गरिन्थ्यो । अहिले पछिल्लो ५ वर्ष यता बढ्दो प्रविधिका उपकरणहरु भित्रिए सँगै सम्पुर्ण किसानहरुले पहिला जस्तो दु:ख गर्न छाडेका छन । प्रविधिको प्रयोगले मानिसको समय र पैसा दुबैको बचत हुने भएकाले कृषकहरू आधुनिक प्रविधी तर्फ आकर्षित भएका हुन् । “ट्रयाक्टर र थ्रेसरको प्रयोग गर्दा केही घण्टामा काम सकिने भएकाले पाँच बर्ष यता यसैको प्रयोग गर्दै आएको छु” भन्नुहुन्छ पकानका कृषक भिम लाल अर्याल।प्रविधिको बढ्दो प्रयोगले कृषकहरूलाई निकै नै सजिलो, सस्तो र समयको बचत भैरहेको छ । अहिले पकान, सिमलचौर, गैह्राथोक र बयरघारीका फाँटमाहरूमा धान चुट्नको लागि थ्रेसर मेसिनको प्रयोग भैरहेको छ। मेसिनले एक घन्टामा लगभग ४०-५० मुरी धान चुट्ने हुँदा समयको बचत र खर्च कम भएको पाइन्छ । यो मेसिनले धान चुट्दा धानमा भएको फोहोर मैला, धुलो र पराल छुट्टाछुट्टै बनाउने भएकाले गाइबस्तुले पनि मीठो मानेर खाने गर्छन् । धानमा भएको धुलोमैला छुट्टै हुने र त्यो गाइवस्तुलाइ नखुवाउने भएकाले गाइवस्तुलाइ माटे, जुका लगायत अरु रोगहरुले पनि आक्रमण नगरेको पाइएको छ । अहिले सबै किसानहरु खेतमै धान काट्ने र सुकाउने कुनिउ लगाउने र धान भित्र्याउने चटारोमा छन् ।
दस पन्ध्र जना दमेरा लगाएर धान चुट्ने, बत्ताउने, बोक्ने गर्ने गर्नु पर्ने काम धान चुट्ने र दाँइ हाल्ने काम मेसिनले एकै घन्टामा गरिदिन्छ। बोरा थापेर ट्रयाक्टर र जीपमा राखेर धानका बोरा उतिबेलै घरमा पुर्याउन पाउँदा किसानहरु पनि खुशी भएका छन् । धान झाट्ने र दाँइ हाल्ने काम एकैचोटि हुनेभएकाले कृषकहरुमा थ्रेसर मेसिनको आकर्षण बढेको छ ।