मोबाइलको लत तपाईं हामीले सोचेभन्दा पनि भयानक

बैशाख ३०, २०८१


काठमाडौं । तपाईंलाई स्मार्टफोनले नियन्त्रण गरिरहेको छ कि भन्ने लाग्छ ? यो तपाईंको मात्र समस्या होइन । स्मार्टफोनको लत आजका दिनमा भयानक समस्या बनेर देखिएको छ । यसलाई कम गर्न वा यसबाट जोगिन के गर्ने भन्ने विषयमा छलफल गर्न उपयुक्त समय आएको विश्लेषकहरूले औंल्याएका छन् ।

एक छिन मात्र फोन चलाउँछु भनेको मान्छे दिनभर फोनमै बिताएका अनुभव पनि छन् हामीसँग । गेम खेल्न, सामाजिक सञ्जाल स्क्रोल गर्न वा भिडिओहरू हेर्दै हामी आफ्नो समय बिताइरहेका हुन्छौं । यदि कहिलेकाहीँ मात्रै यसरी फोन प्रयोग गर्नुहुन्छ भने त्यसमा त्यति ठूलो समस्या हुँदैन । तर, सधैं त्यसरी नै बित्न थाल्यो भने तपाईंले आफ्नो ख्याल गर्ने समय आएको छ ।

आज हामी स्क्रिन टाइम बढी हुँदा त्यसले स्वास्थ्यमा के असर गर्छ अनि त्यसलाई नियन्त्रण गर्न के गर्ने भन्ने विषयमा चर्चा गर्दैछौं:

स्क्रिन टाइमका सन्दर्भमा विज्ञहरू के भन्छन् ?

अत्यधिक स्मार्टफोन प्रयोग गर्नुले कालान्तरमा तपाईंको मानसिक तथा भौतिक स्वास्थ्यले धेरै नकारात्मक असर पुर्‍याउँछ । यो लेखमा अनुसन्धानकर्ताले कस्तो पक्षमा कस्तो असर देखिन्छ भन्ने चर्चा गरेका छन्, त्यसैलाई प्रकाश पारिएको छ । त्यसैले अध्ययन हुन बाँकी भएका त्यस्ता थुप्रै पक्षहरू छुटेका हुन सक्छन् ।

१) महामारीका रूपमा देखिने ‘नियर साइटेड्नेस’

नियर साइटेड्नेस अर्थात् ‘मायोफिया’ भनेको आँखाको यस्तो अवस्था हो, जहाँ व्यक्तिले नजिकको वस्तु प्रस्ट देख्न सक्छ । तर, टाढाको वस्तु मधुरो देख्छ । हो, स्मार्टफोन लामो समय प्रयोग गर्दा आँखाको संरचना बदलिन पुग्छ । अर्थात् भौतिक रूपमा ‘आईबल’को आकार लम्बिन्छ । जसले गर्दा जहाँ बाहिरबाट आउने प्रकाश रेटिनाभन्दा अगाडि नै केन्द्रित भइदिन्छ । र, टाढाको वस्तु मधुरो देखिने समस्या आउँछ ।



विज्ञहरूका अनुसार सन् २०५० सम्म ५० प्रतिशत मानिसहरूमा मायोफिया हुनेछ । झन बालबालिकाले धेरै समय स्मार्टफोन प्रयोग गरे भने यो समस्या छिट्टै देखिन्छ । त्यसैले विज्ञहरूले डिजिटल डिभाइस विशेषगरी स्मार्टफोन प्रयोग गर्दा धेरै नजिक नल्याउन सुझाव दिएका छन् ।

एप्पलले आफ्ना प्रयोगकर्तालाई यस्तो समस्याबाट जोगाउन ‘अलर्ट’ सिस्टम ल्याएको छ । जसले गर्दा तपाईंले फोन निकै नजिक ल्याउनु भयो भने त्यसो नगर्न चेतावनी दिन्छ । त्यसैले तपाईंले कम्तीमा पनि फोन आफ्नो अनुहारभन्दा १२ इन्च टाढा राख्नुपर्ने हुन्छ ।

आईफोनमा डिस्टेन्स रिमाइन्डर कसरी राख्ने ?

– सबैभन्दा पहिले सेटिङ एप खोल्नुहोस् ।

– त्यसपछि स्क्रिन टाइममा ट्याप गर्नुहोस् ।

– अनि ‘स्क्रिन डिस्टेन्स’ भन्ने अप्सन छान्नुहोस् ।

– यति गरेपछि ‘स्क्रिन डिस्टेन्स’को अप्सनमा भएको टोगल अन गर्नुहोस् ।

यति गरेपछि तपाईंले फोन आफ्नो अनुहारभन्दा १२ इन्च नजिक ल्याउनु भयो भने आईफोनले वार्निङ दिन्छ ।  यो सेटिङले बालबालिकामा मायोफिया हुने समस्या कम गर्न सक्ने बताइएको छ ।

२) आँखा सुक्खा हुनु

अत्यधिक स्मार्टफोनको प्रयोगले मायोफियाका साथै आँखा सुक्खा हुने समस्या पनि हुन्छ । हामी स्मार्टफोन, ल्यापटप वा ट्याबलेट हेरिरहँदा आँखा कम झिम्काउँछौं । त्यसैको कारणले हामीमा आँखा सुक्खा हुने समस्या देखिन्छ ।

एक अध्ययनले यसरी आँखा सुक्खा हुने समस्या र अत्यधिक स्मार्टफोनको प्रयोग कसरी एक आपसमा जोडिन्छन् खुलाएको छ । हामीले आँखा झिम्काउनु भनेको विन्डशिल्ड वाइपरले आँखा सफा गर्नु र त्यसलाई औसिलो (सुक्खा नभएको) बनाइराख्नु हो । त्यस्तै जति आँखा झिम्काइयो शरीरले त्यति नै आँसु उत्पादन गर्छ । जसले गर्दा आँखा सुक्खा हुन पाउँदैन । र, स्वास्थ्य हुन्छ ।  त्यसैले आँखा बढी झिम्काउँदा त्यसले आँखालाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

बालबालिकाको सन्दर्भमा आँखा स्वास्थ्य नभए त्यससम्बन्धी रोग लाग्छ । र, दृष्टिमा समेत समस्या आउँछ । त्यस्तै आँखा सुक्खा हुने समस्या पनि देखिन्छ ।

मानसिक स्वास्थ्यमा स्मार्टफोनले पार्ने नकारात्मक प्रभाव

स्मार्टफोनको ब्यापक प्रयोग हुन थालेको धेरै समय भएको छैन । तर, त्यसले हाम्रो मानसिक स्वास्थ्यमा पार्ने प्रभाव भने सतहमा आउन थालेको छ ।

यस विषयमा अध्ययन तथा अनुसन्धान अझै प्रारम्भिक चरणमा छ । सीमित अध्ययनले पनि स्मार्टफोनको अत्यधिक प्रयोगले पार्ने समस्या सतहमा ल्याएको छ । डिप्रेसनको समस्या, एन्जाइटी हुनु र आत्महत्यासम्मको विचार आउनु पनि कुनै न कुनै रूपमा अत्यधिक स्मार्टफोन प्रयोगसँग जोडिएको विश्लेषकहरुको तर्क छ ।

कोलम्बिया विश्वविद्यालयको मनोचिकित्सा विभागले उल्लेख गरे अनुसार निरन्तर सूचना र अपडेटको प्रवाहले एन्जाइटी (चिन्ता)को अनुभूति गराउन सक्छ । यसलाई युवा प्रयोगकर्ताहरूमा एफओएमओ (FOMO) अर्थात फिअर अफ मिसिङ आउट (केही कुराबाट चुक्ने डर) भनिन्छ । यसले गर्दा उनीहरूले सामाजिक सञ्जाल वा टाइमलाइनमा देखेका सांस्कृतिक र सामाजिक  क्षणहरूमा सहभागी भएन भने आफू छुट्ने होकि भन्ने डर हुन्छ ।

तर यो केवल चुक्ने डर मात्र होइन । यो एक्लोपन र अपर्याप्तताको बढ्दो अनुभूति पनि हो । सामाजिक सञ्जाल विशेषगरी इन्स्टाग्राम र टिकटकमा देखिने देखावटी पन, मानिसहरूको रमाइलो जिन्दगी, सफलता, खुसी अनुसार, आकर्षक लुगाकपडाहरू आदिले पनि युवालाई आफू शून्य भएको महसुस गर्छ ।

यसले गर्दा उनीहरूलाई आफूले केही गर्न नसकेको भान हुन्छ र चिन्ता बढ्दै जाँदा त्यो एन्जाइटी र डिप्रेसनमा परिणत हुन्छ । त्यसैले सामाजिक सञ्जालमा देखिने जीवनयापन अन्य किसिमका देखावटीपन क्षणिक र देखाउनका लागि मात्रै गरिएका चिज हुन् भन्ने बुझ्नुपर्छ । उनीहरू वास्तविक जीवनमा पनि तपाईं हामी जस्तै हुन्छन् ।

स्मार्टफोनको लत

स्मार्टफोन आफैमा नराम्रो कुरा होइन । स्मार्टफोन त प्रविधिको देन हो । हाम्रा पुस्ताले पाँच दशक अघिसम्म कल्पनै गर्न नसकेका कुराहरू आज स्मार्टफोनका रूपमा हाम्रै दैनिक जीवनमा देखिएका छन् । स्मार्टफोनकै कारण हामी आफन्त तथा साथीभाइसँग वास्तविक समयमा जोडिन पाएका छौं । स्मार्टफोन भएर र हामी आफूलाई विशेष लाग्ने पलहरू जतिबेलै कैद गर्न सक्छौं । कतिपय अवस्थामा स्मार्टफोनकै कारण खतरनाक अवस्थाबाट जोगिएका समाचार पनि आइरहेका हुन्छन् ।

तर, स्मार्टफोनमा जसरी विभिन्न प्लेटफर्मको विकास भयो त्यसले कथालाई नै फरक मोड दिएको छ । विभिन्न गेम र सामाजिक सञ्जाल मानिसलाई लत लगाउने किसिमले नै डिजाइन गरिएका हुन्छन् । यसरी डिजाइन गर्न ती कम्पनीलाई अर्बौंको खर्च लागेको हुन्छ । तपाईं जति बढी सामाजिक सञ्जालका माध्यममा सक्रिय हुनुभयो वा अन्तरक्रिया गर्नुभयो त्यति नै बढी ती कम्पनीलाई फाइदा हुन्छ ।

मोबाइल गेमिङ पनि स्मार्टफोनको लत लगाउने अर्को तत्व हो । विभिन्न किसिमका अनलाइन गेमले भौतिक खेलहरूभन्दा भर्चुअल खेल बढी प्रभावशाली हुने भान पारेका हुन्छन् । कतिपय अनलाइन गेममा क्यारेक्टर र अन्य किसिमका सामग्री वास्तविक पैसा खर्च गरेर खरिद गर्नुपर्ने हुन्छ । त्यसले पनि अनलाइन खेललाई वास्तविक जस्तो बनाएको हुन्छ ।

त्यस्तो बेला प्रयोगकर्तालाई आफ्नो रकम वास्तवमै खर्च भइरहेको छ भन्ने महसुस हुँदैन । जसले गर्दा उनीहरू आफ्नो क्षमताले सकिनेभन्दा बढी खर्च गर्छन् ।

२५ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई यस्ता अनलाइन गेमले बढी लतमा पार्ने बताइएको छ । किनभने मस्तिष्क तीव्र गतिमा विकास भइरहेको अवस्थामा प्रभावित पार्ने बाह्य तत्त्व धेरै हुन्छन् । त्यसले गर्दा यो उमेरमा स्मार्टफोनको लत बढी देखिन्छ ।

विज्ञहरूको अनुसार स्मार्टफोनको लत लाग्दा अटिजम, न्युरल डेभलपमेन्ट डिसअडर र डिप्रेसिभ डिसअडर जस्ता डिसअडर देखिन्छन् ।

स्क्रिन टाइमममा सीमितता

स्मार्टफोनको लतले गर्दा के कस्ता समस्या देखिन्छन् भन्ने प्रस्ट भइसकेपछि अब त्यसलाई कसरी कम गर्ने भन्ने विषयमा चर्चा गरौं । अब तपाईंले स्मार्टफोनको प्रयोगलाई सीमित गर्नुपर्छ । यसको अर्थ आफ्नो फोन वा कम्प्युटर नजिकको कुवामा फालिदिनुस् भन्न खोजिएको पनि होइन । तपाईंले आफूले बढी प्रयोग गर्ने सामाजिक सञ्जालका अकाउन्ट डिलिट गर्नपर्छ पनि भनिएको छैन ।

समयसँगै आफूलाई अभ्यस्त राख्न तपाईंले स्मार्टफोन र कम्प्युटर प्रयोग गर्नुपर्छ । तर, धेरै होइन । आफूलाई बढी प्रयोग गरेको महसुस भए केही समयका लागि ब्रेक लिनुहोस् । यस्तो बानीलाई निरन्तरता दिंदै जानुभयो भने तपाईंको अनावश्यक रूपमा स्मार्टफोन प्रयोग गर्ने बानी कम गुँदै जान्छ । त्यसैले स्क्रिन टाइम र त्यसलाई चटक्कै छोडेर लिइने ब्रेकलाई सन्तुलन राख्नुहोस् ।

तपाईं अहिले जसरी स्मार्टफोन प्रयोग गर्नुहुन्छ त्यसबाट सचेत हुनुहोस् । अहिले बजारमा आएका अधिकांश स्मार्टफोनमा तपाईंले कुन एप कति प्रयोग गर्नुभयो भन्ने देखाइएको हुन्छ । त्यसका लागि सेटिङमा गएर ‘स्क्रिन टाइम’ (Screen Time) वा डिजिटल वेलबिङ (Digital Wellbeing) सर्च गर्नुपर्ने हुन्छ । त्यसमा तपाईंले कुन कुन समयमा कुन एप कति प्रयोग गर्नुभयो भन्ने प्रस्ट देखाइएको हुन्छ ।

काम परेको समय बाहेक तपाईंले दिनमा दुई घण्टा मात्र गेम खेल्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने, भिडिओ हेर्ने वा टिभी हेर्ने गर्नुभयो भने पनि त्यसले तपाईंको स्वास्थ्यलाई कम असर गर्छ ।

यो प्रक्रिया निरन्तर अपनाउँदै जाने हो भने स्क्रिनमा अनावश्यक रूपमा बढी समय बिताउने तपाईंको बानी कम हुँदै जान्छ । त्यस्तै पछि म अब यो भन्दा बढी समय सामाजिक सञ्जाल प्रयोग गर्दैन भनेर आफैलाई विश्वस्त बनाउन सक्नुहुन्छ । अहिलेका अधिकांश फोनमा ब्रेक रिमाइन्डर, एप लिमिट जस्ता सुविधा रहेका हुन्छन् ।

आईफोनमा भने तपाईंले कुन-कुन एप बढी प्रयोग गर्नुहुन्छ र त्यसलाई छानेर ‘लिमिट एप’को क्याटेगरीमा राख्ने सुविधा दिइएको छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले सेटिङ एप खोल्नुहोस् ।

-त्यसपछि ‘स्क्रिन टाइम’मा ट्याप गर्नुहोस् ।

-अनि एप लिमिटको अप्सनमा जानुहोस् ।

-र, आफूले कुन क्याटेगरीको एपलाई लिमिट गर्न खोज्नु भएको हो त्यो छान्नुहोस् ।

टाइम लिमिट राख्दा सबैभन्दा पहिले १०-१५ प्रतिशत मात्रै घटाउनुहोस् । त्यसपछिका दिनमा बढी घटाउन सक्नुहुन्छ ।

(टेक पानाको सहयोगमा)