सकियो रमाइलो मेला: विद्यालय स्तरीय नृत्यमा बालज्योती प्रथम

जेठ २२, २०८१


स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटमा नगरपालिकामा   खुल्ला पुरूष भलिबल प्रतियोगिता एवं रमाइलो मेला  सम्पन्न भएको छ। २५६८ औं बुद्ध जयन्तीको अवसरमा बयरघारी पिस युथ क्लबले  भीरकोट  खेलमैदानमा रमाइलो मेला आयोजना गरेको थियो।क्लबको आयोजना जेठ १० गतेदेखि २१  गतेसम्म संचालन भएको  रमाइलो मेला  सोमबार समापन गरिएको हो।

रमाइलो मेलालाई मौलिक एवं हर्षोउल्लाषमय बनाउन विद्यालय स्तरीय नृत्य र  विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको थियो।  विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन एवं मौलिक संस्कृतिको संरक्षण गर्न रमाइलो मेलामा गरिएको  विद्यालय स्तरीय नृत्य प्रतियोगितामा बालज्योती मा.वि. प्रथम भएको छ। यसैगरी भाग्योदय नमुना मा.वि. ले द्वितीय स्थानमा चित्त बुझाएको छ भने बालोदय मा.वि. तृतीय भएको छ।  प्रथम, द्वितीय र तृतीय हुने  विजेताहरूले नगद १५ हजार ,१० हजार र ५ हजार रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाएका छन्। यसैगरी रमाइलो मेला अवधिभर स्थानीय र राष्ट्रिय स्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुती समेत रहेको थियो।

रमाइलो मेलाको मुख्य आकर्षण खुल्ला पुरूष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार  आयोजक बयरघारी पिस युथ क्लबले जितेको छ। द्वितीय पुरस्कार राङ्खोला युवा क्लबले हात पार्न सफल भयो भने तृतीय पुरस्कार न्यु होराइजन भलिबल टिम, बुटबलले हात पारेको छ। प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १० हजार, द्वितीय पुरस्कार ६५ हजार र तृतीय पुरस्कार ३५ हजार रहेको थियो।