मौलिकता विनाको आधुनिकता अधुरो : मन्त्री श्रेष्ठ

फागुन १७, २०७८


युवराज पौडेल, स्याङ्जा

१७ फागुन २०७८

गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले परम्परागत मौलिक संस्कृति र सम्पदाको संरक्षणमा प्रदेश सरकारले  सार्थक प्रयास गरिरहेको बताउनुभएको छ ।

आज आँधीखोला गाउँपालिका वडा नं ५ स्थित ठुलीबराह शिवालय मन्दिर समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले हाम्रा धर्म संस्कृति र परम्परालाई संरक्षण गर्दे तिनलाई आधुनिक बनाउँदै जानुपर्ने बताउनुभयो । उहाँले मौलिकता विनाको आधुनिकता अधुरो रहने भएकाले हाम्रा संस्कृतिभित्रका मौलिकताहरुलाई जोगाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो संस्कृतिमा धार्मिक सहिष्णुता छ । हामी परस्परमा मेलमिलापपूर्ण संस्कार र संस्कृतिमा हुर्केका छौं । यो नै हाम्रो विशिष्ट पहिचान हो ।’

सो कार्यक्रममा बोल्दै आँधीखोला गाउँपालिका उपाध्यक्ष सर्मिलादेवी पौडेलले संस्कृतिले नै मान्छेलाई चिनाउने भएकाले धर्म र संस्कृतिको जगेर्ना गर्दै जानुपर्नै बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य उर्मिला गुरुङले सबै धर्म र संस्कृतिको उद्देश्य मान्छेको हित गर्नु रहेको बताउँदै नेपाली समाजमा पहिलेदेखि नै धार्मिक सहिष्णुता र आपसी सहयोगको भावना रहेको बताउनुभयो ।



सो कार्यक्रममा पञ्चैबाजाद्वारा मङ्गलधुन बजाइएको थियो । महाशिवरात्रिको अवसरमा आयोजित सो कार्यक्रममा भगवान् शिवको पूजा अर्चना गरिएको थियो भने भजन कीर्तन समेत गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक भागवत् प्रकाश मल्लद्वारा खेलकुदमा अभिरुचि राख्ने युवा क्लबका प्रतिनिधिहरुलाई सौजन्य पठाइएका भलिबल लगायतका खेलकूद सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस आँधीखोाला गाउँपालिका अध्यक्ष नरेन्द्रराज पौडेल, आँधीखोला गाउँपालिकाका वडा नं ५ का अध्यक्ष कृष्ण पनेरु, नेपाली काङ्ग्रेस आँधीखोलाका नेता प्रदीप पौडेललगायतले बोल्नुभएको थियो ।

मन्दिर निर्माण समितिका अध्यक्ष थमनबहादुर बोगटीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य धनबहादुर केसीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन युवराज पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय स्मृति केसीले गर्नुभएको थियो ।