मास्कको प्रयोग गरौँ, जिम्मेवार नागरिक बनौँ
भाद्र ०९, भीरकोट खबर डेस्क
कोरोना महामारीबाट जोगिनका लागि मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले लगातार अनुरोध गरिरहेको छ । तर कमजोर चेतनास्तर र लापरबाहीका कारण मानिसहरूले विस्तारै मास्क लगाउन छोड्दै गएका छन् । कतिपयले नाकै नछोपिकन त कतिपयले चिउँडोमुनी मास्क लगाएका दृश्यहरू भीरकोटका बजारमा प्रशस्त देखिन्छ्न् । बयरघारी बजार, हेलुबजार, सुन्दरबजार लगायतका स्थानमा हेर्दा व्यवसायीहरू र सर्वसाधारणहरूले मास्कको प्रयोगलाई त्यति महत्त्व दिएको देखिदैन । स्थानीय निकाय, भीरकोट उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, जनप्रतिनिधि र नागरिक समाज सबै मिलेर मास्कको प्रयोग र महत्त्वको विषयमा जनचेतनामूलक कार्यक्रम गर्नु आवश्यक देखिएको छ ।
कोरोनाको तेस्रो लहरको अनुमान भइरहँदा हामी सबै जिम्मेवार हुनु आवश्यक छ । मास्क लगाउँदा नाक मुख राम्रोसँग छोपेर कसिलो तरिकाले लगाउनुपर्छ । सकेसम्म मास्कको पुनः प्रयोग गर्नु हुँदैन । प्रयोग भैसकेको मास्कलाई जहाँ पायो त्यही फाल्नुहुँदैन् । सकेसम्म प्रयोग भएको मास्क आगोमा पोल्ने वा जमिनमा पुर्ने गर्नुपर्दछ । भीरकोटका सबै सरोकारवाला निकाय र नागरिकलाई जिम्मेवार बन्न र मास्कको सही सदुपयोग गर्न भीरकोट खबर हार्दिक अनुरोध गर्दछ ।