भीरकोटमा स्थानीय पाठ्यक्रम अनुसारका पाठ्यपुस्तकहरु सार्वजनिक हुँदै

भदौ २८, २०७८


भाद्र २८, डा. तुलसी प्रभास

नेपालमा विगत लामो समयदेखि नै स्थानीय पाठ्यक्रमका सम्बन्धमा विभिन्न चर्चा परिचर्चा हुँदै आएको पाइन्छ । नेपालको संविधान २०७२ को मौलिक हकका रुपमा प्रत्येक व्यक्ति र समुदायले आफ्नो भाषा तथा संस्कृतिको संरक्षण गर्न पाउने, प्रत्येक समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने अधिकार लगायतका व्यवस्थाहरु गरिएको छ भने राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ र २०७५ ले पनि आधारभूत तहसम्म स्थानीय पाठ्यक्रमको व्यवस्था गरी सिकाइ क्रियाकलाप सञ्चालन गर्न निर्देश गरेको विदितै छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूपले आधारभूत तह (कक्षा १ देखि ३) मातृभाषिक सिप/स्थानीय विषयवस्तु सम्बन्धी क्रियाकलाप समावेश गरी पाठ्यभार ५ र वार्षिक पाठ्यघन्टा १६० कायम गरेको छ । यसै अनुरूप तयार गरिएको आधारभूत तह (कक्षा १ देखि ३) का एकीकृत पाठ्यक्रम २०७५ मा ५ पाठ्यभारको मातृभाषिक सिप/स्थानीय विषय वस्तुका लागि स्थानीय तहले नै पाठ्यक्रम विकास तथा छनोट गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसै गरी राष्ट्रिय पाठ्यक्रम प्रारूपमा आधारभूत तहकै कक्षा ४–८ मा मातृभाषा वा अन्य कुनै स्थानीय विषयवस्तु पाठ्यभार ४ र पाठ्यघन्टा १२८ तोकिएको छ ।


यही सन्दर्भमा भीरकोटनगरपालिकाले पनि “राष्ट्रिय पाठ्यक्रमप्रारुप–२०७५” र “स्थानीय पाठ्यक्रम निर्देशिका–२०७६” का मूलमान्यतालाई आत्मसात् गर्दै हाम्रो भीरकोट नामक पाठ्यक्रम तयार गरी पाठ्यपुस्तक लेखनको दायित्वलाई पूरा गरेको छ । यस क्रममा स्थानीय पाठयक्रमका आदर्शहरुलाई पछ्याउँदै स्थानीय आवश्यकता र रुचिलाई ध्यानमा राखी यो पाठ्यक्रम निर्माण गरिएको छ । पाठ्यक्रम निर्माणका क्रममा नगरपालिका क्षेत्रभित्रका पाठयक्रम विज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाविद्, प्रधानाध्यापक, लेखक, स्थानीय सरोकारवाला प्रतिनिधिहरुको व्यापक छलफल, अन्तरक्रिया, प्रश्नोत्तरका माध्यमबाट सबैका सुझावहरुलाई यथोचित समावेश गरी पाठ्यक्रमको साँचोमा ढालिएको छ ।
यस क्रममा विभिन्न चरणका गोष्ठी, छलफल र अन्तरक्रिया मार्फत् स्थानीय स्तरका आवश्यकता र पाठ्यक्रममा समेट्नुपर्ने विषय सन्दर्भहरुका बारेमा अवधारणा निर्माण गरिएको छ । स्थानीय सीप, क्षमता, कला, पेशा, व्यवसाय, स्थानीय सम्पदा, स्थानीय पहिचानलाई पाठ्यक्रममा समेटेर विद्यार्थीका ज्ञान, सीप र अभिवृत्तिलाई उजागर गर्ने प्रयास पाठ्यक्रममा गरिएको छ । भीरकोट के हो भन्ने कुरालाई पाठ्यक्रमको ऐनामा प्रतिबिम्बित गराउने, त्यो पाठ्यक्रममा प्रत्येकले आफ्नो पहिचान देख्ने र सबैले अपनत्व महसुस गर्ने ढङ्गले बनाइएको यो पाठ्यक्रमले नयाँ पिंढीलाई आफ्नो मौलिकपनको खोजी गर्न प्रेरित गर्ने छ । यसले स्थानीय सीप वा पेशा र विशेषताहरुलाई विश्वव्यापीकरण बनाई परम्परागत पेशाहरुको व्यावसायिकरणतर्फ पनि सहयोग गर्ने विश्वास लिएको छु । यसका साथै आफैसँग भएको सुगन्धचिन्ननसकेर रनवन घुमिरहेको मृगजस्तै भएका आजका युवालाई समेत आफ्नै ठाउँमा उद्यमका सम्भावनाहरुको उज्यालो देखाइदिने दस्तावेजका रुपमा यसको महत्व रहने नै छ ।
स्थानीय सरोकारवालाको आवश्यकता, चाहना र उनीहरूकै सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी निर्माण र कार्यान्वयन गर्न लागिएको हाम्रो भीरकोट नामक पाठ्यक्रमको ऐतिहासिक महत्व रहने कुरामा कुनै शङ्का छैन ।
यस पाठ्यपुस्तकमा भीरकोटको समग्र परिचय झल्किएको छ । यहाँको कृषि, पर्यटन, धार्मिक सम्पदा, संस्कृति, जातजाति, उद्यमशीलता, सरसफाइ लगायतका कुराहरुको अनुसन्धान गरी कक्षा १–८ सम्ममा १५० वटा पाठहरु तयार गरिएको छ । सबै पाठहरु विद्यार्थी केन्द्रित छन् । सबै पाठमा भीरकोटकै पाठअनुसारका स्थानीय तस्बीरहरु समावेश गरिएका छन् । केहीप्रमुख पाठहरुका भिडियो सामग्री पनि तयार गरिएको छ । अभ्यासहरुका माध्यमबाट विद्यार्थीहरुमा खोज, अनुसन्धानको बानीविकास गर्ने लक्ष्य राखिएको छ ।यस पाठ्यक्रम र पाठ्यपुस्तक लेखनमा त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विभागका प्राध्यापकहरु, पाठ्यक्रम विकास केन्द्रका विज्ञहरु, अनुसन्धानकर्ताहरु, लेखक तथा साहित्यकारहरु लगायत स्थानीय विज्ञहरुको संलग्नता रहेको छ ।
गण्डकी प्रदेश सरकारका शिक्षा मन्त्रीलगायत विभिन्न शिक्षाविद्हरुको उपस्थितिमा २०७८ भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसर पारेर यो पाठ्यक्रम र पाठ्यपुस्तकको सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसरी समग्र स्थानीय विषयवस्तुसहित आधारभूततहका सबै कक्षामा पूर्ण पूर्ण पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्ने भीरकोट नेपालकै पहिलो नगरपालिका बनेको छ ।
समग्रमा यो पाठ्यक्रम र पाठ्यपुस्तक समग्र भीरकोटको महत्वपूर्ण दस्तावेज बनेर भीरकोटको समग्र चित्र उतार्न सफल रहेको छ । यस पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको सम्पूर्ण जिम्मेवारी साभ नेपालले वहन गरेको छ ।

(लेखक साभ नेपालका अध्यक्ष हुन् ।)