स्मार्ट अखबार संवाददाता
८ बैशाख २०७९, वालिङ

स्याङ्जा जिल्लामा स्थानीय निर्वाचनको सर्गर्मी बढ्दै गएको छ। विभिन्न पार्टीका बैठक देखि घरदैलो कार्यक्रमहरु निकै सक्रिय रुपमा अघि बढिरहेका छन् ।सत्ताधारी गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न सकस परिरहेका बेला स्याङ्जाका तीन पालिकामा नेकपा एमालले प्रमुख र उपप्रमुख छानेको छ। स्याङ्जाको वालिङ नगरपालिकामा स्थानीय निर्वाचन २०७९ को लागि नेकपा एमालेबाट पालिका प्रमुखमा कृष्ण खाँण र उपप्रमुखमा खगिसरा थापालाई उम्मेदवार सिफारिस गरेको छ । उहाँहरू सिफारिस भएसँगै वालिङ नगरपालिका स्मार्ट सिटीको रुपमा समेत चिरपरिचित रहेको वालिङ नगरपालिकामा चुनावी चहलपहल बढ्दै गएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट नगर प्रमुखमा वालिङमा बाहलवाला मेयर समेत रहेका दिलिप प्रताप खाँण र भोजराज अर्यालको चर्चा छ। दुबैजना लोकप्रिय र अनुभवी नेता रहेकाले एमाले र कांग्रेसका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा कडा हुने आंकलन गरिएको छ।

नेकपा एमालेबाट नगरको अध्यक्षमा सिफारिस भएका खाँणले विगतका दिनहरुमा सक्रिय रुपमा राजनिति गर्दै आउनुभएको छ। पार्टीको जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका लोकप्रिय नेता खाँणले भन्नुभयो, “पार्टी  र जनताको लागि भनेर आफ्नो जीवन राजनितिमा त्याग गरेको छु, यसपालि पार्टीको निर्णयले मलाई नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ , यसमा म निकै खुशी छु। ढुक्क छु जनताले विश्वास गरेर मलाई जिताउनु हुन्छ। “

“चुनाव यति महङ्गोभएको छ, एउटा सामान्य वडा सदस्य लड्न पनि मान्छेले लाखौँ रुपिँया खर्च गर्छन, तर म सँग त्यो करोडौँ रुपियाँ खर्च गरेर चुनावमा जाने हैसियत छैन । मैले निष्ठाको राजनिति गर्दै आएको छु, मलाई जहाँसम्म लाग्छ मैँले त्यस्तो खालको कुनै खर्च गर्ने छैन,’’ उहाँ बताउनुहुन्छ।

“टिकटको कुरा गर्दा पार्टीको लागि पुर्‍याएको योगदानलाई मुल्याङ्कन गरेर दिइन्छ । कुनै मानिसहरु कुर्सीको लागि राजनितिक गरेका हुन्छन्, त्यस्तालाई पैसा चाहिन्छ । तर हामी जस्तालाई पैसा चाहिदैँन”, उहाँले भन्नुभयो ।

नेकपा एमालेका निष्ठावान र लोकप्रिय नेता खाँणले थप्नुभयो, “बहालवाला नगर प्रमुख दिलिप प्रताप खाँणले नगरमा मेरो कारणले गर्दा फोहर व्यवस्थापन गरेको भनेर राष्ट्रिय मिडियाहरुमा फुक्नु भयो, तर त्यो सबै पूर्ण सत्य होइन। उहाँ आउन भन्दा पहिला नै फोहोर व्यवस्थापन बारे छलफल भैसकेको थियो, त्यसैले उहाँलाई सजिलो भयो फोहोर व्यवस्थापन गर्न।’’

“नगरपालिकाको पहिलो प्रथामिकता भनेको शिक्षा स्वास्थ्य र रोजगारी हो । शिक्षाले समाज निर्माणमा ठुलो भूमिका खेलेको हुन्छ । भनिन्छ सिद्धान्त बिनाको व्यवहार अन्धो हुन्छ । त्यसैले नगरमा यदि शिक्षाको स्तर गुणस्तरीय भयो भने पक्कै नगरमा राम्रो विचार भएका व्यक्तिहरुको उत्पादन हुन्छ । त्यसर्थ यदि म मेयरको कुर्सीमा पुगे भने शिक्षा क्षेत्रमा अमुल परिर्वतन ल्याउने छु।” खाँणले बताउनुभयो।

उहाँले थप्नुभयो, “नगरपालिकामा ठुला ठुला उद्योग धन्दा खोल्न सम्भव छैन, त्यसैले वालिङका बाँझा उर्वर भूमिमा कृषि गरेर युवाहरुलाई रोजगार र उद्यमसँग जोड्न सकिन्छ।”

बहालवाला मेयर दिलिप प्रताप खाँणले, स्मार्ट सिटीको नारा बजाएर भावनामा डुबेर भाषणमात्र गर्नुभयो । तर यो पालिकालाई स्मार्ट सिटी कदापी भन्र सकिन्न किनभने पालिका स्मार्ट सिटी बनाउनको लागि पहिला त सुविधा सम्पन्न स्वास्थ्य चौकी, गुण्स्तरीय शिक्षा र रोजगार जस्ता आधारभूत कुरा दिन सक्ने हुनुपर्छ तर यहाँ आधारभूत कुराबाट पनि नागरिक बञ्चित छन् ।अब त्यसलाई कसरी स्मार्ट सिटी भन्ने ?” उहाँले प्रतिप्रश्न गर्नुभयो ।

“चुनाव जितेर गएपछि हामी सबैको साझा हौँ । कसैलाई काखा र कसैलाई पाखा राखेर काम गर्दैनौँ । तसर्थ जित्ने सम्भवना देखेको छु ।हामी सँग भिजन छ, काम गर्ने जोस छ जाँगर छ । यो नै जनताले मन पराउने कुरा हो”, खाँणले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here