स्याङ्जामा निर्वाचनको तयारी अन्तिम चरणमा

बैशाख २४, २०७९


२४ बैशाख २०७९, स्याङ्जा
युवराज पौडेल



आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश वसन्तराज पौडेलले बताउनु भएको छ ।



स्याङ्जा जिल्लाका ११ वटा पालिका ३१८ वटा मतदान केन्द्र र १९९ वटा मतदान स्थलमा निर्वाचनसँग सम्बन्धित सामग्री र जनशक्ति लगायतको तयारी भइराखेको उहाँले जानकारी दिनुभयो ।

‘जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्रीको तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको छ ।’ पौडेलले बताउनुभयो । उहाँका अनुसार मतपत्रको तयारी सकिइसकेको र निर्वाचनका खटिने अधिकृतहरुलाई तालिम शुक्रबारबाट सञ्चालन भएको छ । शनिबार तालिम सम्पन्न हुने उहाँले बताउनुभयो ।

तालिममा सहभागी अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृत पौडेलले संयमी र अनुशासित भएर आआफ्नो जिम्मेवारीमा लाग्न सुझाव दिँदै निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आआफ्नो जिम्मेवारीलाई गहन रुपमा पुरा गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिँदै जिल्लामा सबै सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन भएकाले ढुक्क भएर काममा लाग्न सुझाव दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले सहभागीलाई निर्वाचन सुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका विधि, प्रक्रियाका बारेमा प्रशिक्षण दिइने बताउनुभयो ।