स्थानीय पाठ्यक्रम निर्माणमा स्याङ्जा अगाडि

कार्तिक ०८, २०७८


भीरकोट खबर  डेस्क, ८ कार्तिक २०७८नेपालमा वि.सं. २०४९ सालदेखि नै स्थानीय पाठ्यक्रमको अवधारणा अगाडि सारिएको भए पनि करिब ३० दशकको अवधिमा स्थानीय पाठ्यक्रम निर्माण तथा लागू गर्ने कामले बल्ल मूर्त रूप लिन थालेका छ्न्।अझै धेरै स्थानीय तहमा पाठ्यक्रम निर्माण तथा लागू हुन नसकिरहेको अबस्थामा स्याङ्जा जिल्ला भने अग्रस्थानमा रहेको छ। स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गर्ने तथा पाठ्यपुस्तक वितरण गर्ने कार्यमा भीरकोट नेपालमै पहिलो बनेको छ। भीरकोटले कक्षा १ देखि ८ सम्मकै पाठ्यपुस्तक सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वितरण गरिसकेको छ।

“शिक्षकका हातमा पाठ्यक्रम र विद्यार्थीका हातमा पाठ्यपुस्तक” भन्ने नारासहित साभ (SAAV) नेपाल पोखराले स्याङ्जाका स्थानीय तहमा पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक लेखनमा सहजीकरण गरिरहेको छ। स्याङ्जाका फेदिखोला, बिरुवा , कालीगण्डकी गाउँपालिकाले साभ नेपालको सहजीकरणमा पाठ्यक्रम निर्माण भैसकेको छ।भीरकोट सहित स्याङ्जाका चार वटा स्थानीय तहले पाठ्यक्रम लागू गरिसकेका छ्न्।

यसैगरी चापाकोट नगरपालिकाले पनि साभ नेपालकै सहजीकरणमै भर्खरै पाठ्यक्रम निर्माणका विषयमा वृहत् अन्तरक्रिया गरेको छ।चापाकोटले मङ्सिरमा स्थानीय पाठ्यक्रम लागू गर्ने योजना बनाएको छ।

स्थानीय मौलिक विषयवस्तु , नैतिक शिक्षा, व्यवहारिक र जीवनोपयोगी विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक लेखनमा साभ नेपालले सहजीकरण गरिरहेको साभ नेपालका अध्यक्ष डा. तुलसी खनाल प्रभास बताउनुहुन्छ।