भीरकोट नगरपालिकामा दुई दिने स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम सम्पन्न

कार्तिक १७, २०७८


भीरकोट खबर डेस्क, १७ कार्तिक २०७८

भीरकोट नगरपालिकामा दुई दिने स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ। यही कार्तिक १५ र १६ गते नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आधारभूत तह (१-८)मा अध्यापन गर्ने भीरकोटका संस्थागत तथा सामुदायिक विद्यालयहरूका शिक्षकहरूको सहभागीता रहेको थियो। कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक लेखनमा सहजीकरण गर्ने संस्था साभ नेपालका अध्यक्ष डा. तुलसी खनाल ‘प्रभास’ , पाठ्यक्रमविद् एवं त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक गिरिराज उपाध्याय र पाठ्यपुस्तक लेखक युवराज पौडेलले प्रशिक्षण दिनुभएको थियो।पाठ्यक्रम र पाठ्यपुस्तकको सफल र प्रभावकारी कार्यान्वयनका लागि सबैको रचनात्मक र समालोचनात्मक सहयोग आवश्यक रहेको बताउँदै प्रशिक्षकहरूले स्थानीय पाठ्यक्रमको उद्देश्य , शिक्षण सिकाइका तौरतरिका र मूल्यांकन प्रक्रियाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो।सहभागी शिक्षकहरूले स्थानीय पाठ्यपुस्तक अध्यापन गर्दा आइपरेका चुनौती , समस्या र आफ्नो शिक्षण सिकाई अनुभव आदानप्रदान गर्नुभएको थियो।

प्रबोधीकरण कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बालबालिका खुसी भए भने मात्र शिक्षण सिकाई प्रभावकारी हुने बताउनुभएको छ।बालमैत्री नगरपालिकामा बालमनोविज्ञान बुझेर शिक्षकहरूले आफ्नो जिम्मेवारीबोध गर्दै शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न अपरिहार्य रहेको बताउँदै उहाँले बालबालिकाको मुहारमा मुस्कान ल्याएर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभएको थियो। नगर प्रमुख खनालले स्थानीय पाठ्यक्रम “हाम्रो भीरकोट” पहिलो र महत्वाकांक्षी कार्यक्रम भएकाले सरोकारवाला सबै मिलेर उत्कृष्ट बनाउन आ-आफ्नो ठाउँबाट जिम्मेवारीबोध गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो। स्थानीय पाठ्यक्रमको सफल र प्रभावकारी कार्यान्वयनको लागि शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहने प्रष्ट पार्दै खनालले पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक लेखनमा सहजीकरण गरेकोमा साभ (SAAV)नेपाल , पोखरा र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। शिक्षा अधिकृत नवीन थापाले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न शिक्षकले पुस्तकमा भएका कमीकमजोरीलाई सच्चाउँदै अध्यापन गर्न र कुनै प्राविधिक समस्या भएमा साभ नेपालसँग सहकार्य गर्न अनुरोध गर्नुभएको थियो।दुई वटा संस्थगत विद्यालयले सहभागीता नजनाएको बताउँदै उहाँले केही संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई जिम्मेवार हुन समेत निर्देशन दिनुभएको थियो।
स्मरण रहोस भीरकोट नगरपालिका आधारभूत तह        ( १-८ ) पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्ने नेपाल कै पहिलो स्थानीय तह हो।