जनप्रतिनिधिहरूको क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

जेठ १९, २०७९


स्मार्ट अखबार संवाददाता
१९ जेठ २०७९

स्थानीय सरकार संचालन ऐन २०७४ तथा अन्तरसम्बन्धित विषयसँग सम्बन्धीत रहेर भीरकोटका नवनिर्वाचित जनप्रतिनिधिहरू तथा कर्मचारीहरुको लागि संचालन गरिएको क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाको सभाहलमा जेठ १७ गते देखि १९ गतेसम्म ३ दिन संचालन भएको प्रशिक्षण कार्यक्रममा भीरकोट नगर कार्यपालिकाका सदस्य, विषयगत शाखाका शाखा प्रमुख तथा वडा सचिवहरु गरी ४० जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई वडाबाट हुने सिफारिस तथा प्रमाणित गर्ने काम, योजना छनोट प्रक्रिया तथा प्राथमिकिकरण,न्यायिक समितिको गठन,अधिकार क्षेत्र, न्याय निरूपणमा मेलमिलाप कर्ताको भूमिका, योजना निर्माणको अवधारणा, योजना तर्जुमाका चरण, विकास योजनाहरूको संचालन तथा व्यवस्थापन,स्थानीय तहमा वित्त व्यवस्थापन र आर्थिक कार्य प्रणाली, दीगो विकासका लक्ष्यहरूको अवधारणा र स्थानीयकरण, सूचनाको हक र संवैधानिक व्यवस्था, स्थानीय तथा संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधी-२०७७ का विषयमा प्रशिक्षण दिइएको थियो।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको संचालन योजना अधिकृत याम प्रसाद रेग्मीले गर्नुभएको थियो।प्रशिक्षण समापन समारोहमा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रशिक्षक र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै जनप्रतिनिधि र कर्मचारी प्रशासनलाई जनताको सेवक भएर काम गर्न आग्रह गर्नुभएको थियो। जनताको इच्छा र चाहना अनुसार विकास निर्माणका योजना कार्यान्वयन गर्न निर्देशन दिंदै नगर प्रमुख कर्माचार्यले जनतालाई सहज हुने तरीकाले कार्यसम्पादन गर्न सुझाव दिनुभएको थियो। कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरू खगीसरा बि.क, सुमित्रा अधिकारी, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल खनाल, नगर प्रवक्ता दिपेन्द्र के.सी. लगायतका वक्ताहरूले आफ्नो अनुभव र सिकाइको बारेमा मन्तव्य दिनुभएको थियो। सहभागीहरूलाई प्रशिक्षकहरू योगराज थपलिया “गाउँले” र सुमित्रा अधिकारीले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण कार्यक्रममा सहभागीहरु तथा प्रशिक्षक सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले आगामी आर्थिक वर्षमा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि यस्तै क्षमता विकाशमुलक कार्यक्रमहरु संचालन गरिने भन्दै नव निर्प्रवाचित प्रातिनिधिहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो।