नेतृत्व विकास कार्यक्रम आज देखि सुरू

असोज १८, २०७८


आश्विन १८, भीरकोट खबर डेस्क,

भीरकोट नगरपालिकाद्वारा आयोजित महिला जनप्रतिनिधिहरूको नेतृत्व विकास कार्यक्रम आज देखि सुरू भएको छ। नगर उपप्रमुखको प्रमुख आतिथ्यतामा भीरकोट भिल्लामा समुद्घाटन गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसाल,नगर प्रवक्ता एवं वडा नं १ का अध्यक्ष दिपेन्द्र के.सी.,वडा अध्यक्षहरू लक्ष्मण खत्री क्षेत्री, भीम गुरूङ र नेपाली काङ्ग्रेसका नगर सचिब नन्दलाल खनालको समेत सहभागीता रहेको थियो। समुद्घाटन समारोह योजना अधिकृत याम प्रसाद रेग्मीले संचालन गर्नु भएको भए पनि यस कार्यक्रमममा महिला जनप्रतिनिधिहरूको मात्रै सहभागीता रहने छ।

नेतृत्व विकास कार्यक्रमको समुद्घाटन कार्यक्रममा नगर प्रवक्ता दिपेन्द्र के.सी, ने.का. नगर सचिव नन्दलाल खनाल, वडा अध्यक्षहरू लक्ष्मण खत्री क्षेत्री, भीम गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। समुद्घाटन समारोहमा बोल्दै प्रवक्ता के.सी.ले तालिमको व्यवहारिक कार्यान्वयन गर्न सकेमा मात्र महिला जनप्रतिनिधिहरूले आगामी दिनमा भीरकोटको नेतृत्व गर्न सक्ने कुरामा जोड दिनुभएको थियो। ने.का नगर सचिव खनालले महिलाहरूको नेतृत्व र सहभागिता विना समाजको विकास सम्भव नरहेको प्रष्ट पार्दै हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता कायम गर्न नेतृत्व विकास कार्यक्रमले सघाउ पुर्याउनेमा आशा व्यक्त गर्नुभएको थियो। समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुख सिमा केसी कर्माचार्यले महिलाहरू समाजको पितृसत्तात्मक सोच र व्यवहारका विरूद्ध एकजुट भएर लागि पर्नु पर्ने र आफ्नो क्षमता विकासमा पनि विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो।

भीरकोट नगरपालिकाका महिला जनप्रतिनिधिहरूको मात्रै सहभागिता रहने नेतृत्व विकास कार्यक्रममा National Institute for Leadership Development का कार्यकारी निर्देशक उषा मल्ल सिंहले प्रशिक्षण दिनुहुने छ। नेतृत्व विकास प्रशिक्षणमा १७ वर्षको अनुभव बटुल्नुभएकी प्रमुख प्रशिक्षक सिंहका अनुसार ३ दिन सम्म चल्ने यो कार्यक्रममा समाजमा व्याप्त महिलाहरूप्रतिको लैङ्गिक दृष्टिकोण र सार्वजनिक भाषणकलालाई प्राथमिकतामा राखेर प्रशिक्षण दिइने छ। महिलाहरूमा आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने हेतुले संचालन गरिएको कार्यक्रममा ३ दिन सम्मै नगर उपप्रमुखको पनि सहभागीता रहने जनाइएको छ।