विरूवामा स्थानीय पाठ्यपुस्तकको विमोचन
स्मार्ट अखबार संवाददाता
२५ चैत्र २०७८
विरुवा गाउँपालिकाको स्थानीय पाठ्यक्रममा आधारित आधारभुत तह कक्षा १-८ को पाठ्यपुस्तकको विमचोन कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक चर्ती मगर, गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्मा र संविधान सभा सदस्य कुमारी टेकु नेपालीले सयुक्त रूपमा पाठ्यपुस्तकको विमोचन गर्नुभएको हो। साभ (SAAV) नेपालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरिएको पालिकाले जनाएको छ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री चर्ती मगरले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकले बिरुवा गाउँपालिकाको समग्र विषयवस्तु समेटेकाले पालिकाको ऐतिहासिक दस्तावेज भएको कुरामा खुशी व्यक्त गर्नुभएको थियो। पाठ्यक्रम निर्माणमा प्रत्यक्ष रुपमै सहभागी हुनुभएका मन्त्री चर्ती मगरले पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माणमा सहजीकरण गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।गाउँपालिका अध्यक्ष शर्माले आफ्नै कार्यकालमा स्थानीय पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माण भएकोमा प्रफुल्लित हुँदै यसको सफल कार्यान्वयन गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो सो अवसरमा प्रधानाध्यापक, राजनीतिक पार्टीका प्रतिनिधि लगायतले पनि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको सफल कार्यान्वयनको शुभकामना ब्यक्त गर्नुभएको थियो । ।कार्यक्रममा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा सहजीकरण गर्ने संस्था साभ नेपालका अध्यक्ष डा. तुलसी खनाल “प्रभास”लाई सम्मान समेत गरिएको थियो। साभ नेपालले अहिले सम्म देशभरका ८ वटा पालिकामा पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माणमा सहजीकरण गरिसकेको छ भने ३० वटा पालिकाको सामाजिक – सांस्कृतिक पक्षको अनुसन्धानात्मक प्रोफाइल तयार गरेको छ ।
गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनन्त न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने शिक्षा शाखा प्रमुखले कार्यक्रम संचालन गर्नुभएको थियो ।
स्मरण रहोस् : यसवर्ष स्याङ्जाको भीरकोट नगरपालिका, फेदीखोला गाउँपालिका, बिरूवा गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी एकसाथ लागू गरेका छ्न् ।