आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै ।

भदौ १४, २०७८


भदौ १४, भीरकोट खबर डेस्क,

हिन्दु धर्मावलम्बीहरूको संस्कार, परम्परा र पर्वहरू संसारमानै सबैभन्दा अधिक र अद्वितीय छ्न्। जनैपूणिर्माको आगमनसँगै हिन्दुहरूको चाडपर्वहरूको लहर सुरू हुन्छ।आज हिन्दु धर्म अनुयायीहरूले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । श्रीकृष्ण भगवानको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, भजन कीर्तन र महिमागान गर्नाका साथै विशेष गरी पुरुषहरू ‘व्रत’ बसी रातभर जागाराम बस्ने प्रचलन छ । आजकै दिन साना नानीबाबुहरूलाई कृष्णरूपी भेषमा सजाई रमाइलो गर्ने प्रचलन पनि छ । कंसको अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका देवकी वासुदेव पुत्रका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्य र प्रेमको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको कुरा पौराणिक ग्रन्थहरूमा उल्लेख छ । भीरकोट १, बयरघारीमा रहेको राधाकृष्ण मन्दिरमा भक्तजनहरूको घुँइचो लागेको छ । आजको दिनको महिमालाई बुझेर सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

आज भन्दा ५००० वर्ष अगाडि भगवान श्रीकृष्णले कुरुक्षेत्रको युद्धका दौरान आफ्ना मित्र तथा भक्त अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका र अर्जुनबिचको महानतम वार्तालापमा आधारित धार्मिक ग्रन्थलाई ‘श्रीमद्भागवत गीता’ भनिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वका १०० भन्दा बढी भाषामा अनुवाद भैसकेको छ। हिन्दुधर्मको यो पवित्र ग्रन्थले मानव जीवनका सम्पूर्ण आयामहरूको गहन विश्लेषण गर्न र हिन्दु धर्म किन सर्वोत्कृष्ट र प्राचीन धर्म हो भन्ने कुरा बुझ्न सहयोग गर्दछ । सम्पूर्ण हिन्दु अनुयायीहरूले आफ्नो धर्म संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आफ्नो धर्म संस्कृति प्रती गर्व गर्नु एवं “श्रीमद्भागवत गीता” लगायतका धार्मिक ग्रन्थहरू संग्रह गर्नु आजको धार्मिक आवश्यकता हो ।