‘मास्टरको जागिर छाडेकोमा कुनै पछुतो छैन’
कला राना, जेष्ठ २३
स्याङ्जा ।
वालिङ १४ पेखु ठानाका मेघनाथ पौडेल बाख्रा पालनमा लाग्नुभएको २० वर्ष पुग्यो । मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग स्थापना गरी शुद्ध बोयर बाख्रा उत्पादन गरिरहनुभएका पौडेल विज्ञान विषयको शिक्षक हुनुहुन्थ्यो ।
२०५२ देखि २०५९ सालसम्म शिक्षण पेशा गर्नुभएका पौडेललाई २० महिनाको दुबईको बसाइले बाख्रापालनतर्फ अगाडि बढाएको हो । २० महिना दुबईमा बस्दा पौडेललाई जागिरे भन्दा मालिक हुने र आफ्नै गाउँ ठाउँमा मेहनत गर्ने हुटहुटीले उहाँलाई यहाँसम्म पुर्याएको हो ।
२०६७ सालदेखि बाख्रा फर्म स्रोत केन्द्रको रुपमा आफ्नो फर्मलाई विस्तार गर्नुभएका पौडेलले उत्पादन गर्नुभएका शुद्ध बोयर बिउ बाख्राहरू देशका ७२ जिल्लामा पुगिसकेका छन् । सुरुवाती चरणमा खरि जात, त्यसपछि क्रस बोयर हुँदै पौडेलले अहिले शुद्ध शतप्रतिशत बोयर बाख्रा उत्पादन गरिरहनुभएको छ ।
उहाँको फर्ममा अहिले माउ तथा पाठापाठीहरु गरी २७ ओटा छन् । पाठापाठी जन्मिएको ३/४ महिनामै पाठापाठीहरुको माग हुन्छ । अहिले फर्ममा सङ्ख्यात्मक रुपमा थोरै भए पनि शतप्रतिशत बोयर जातको बाख्रा भएकाले डेढदेखि ३ लाख सम्मका बाख्राहरू रहेका छन् ।
बाख्रापालनबाटै छोरालाई काठमाडौँमा विज्ञान विषय पढाउनुभएका पौडेलले वालिङ बजारमै घर समेत बनाउन सफल हुनुभएको छ । शिक्षण पेशा छाडेर बाख्रापालनमा लाग्नुभएको पौडेललाई कुनै पश्चात्ताप छैन । पौडेल धेरै युवाहरूको प्रेरणाको स्रोत समेत बन्नुभएको छ । गाउँमै केही गर्छौँ भनेर युवाहरूले परामर्श लिँदा उहाँको खुसीमा इँटा थपिन्छ । पौडेलको फर्ममा मासु प्रयोजनका लागी कुनै बाख्रा छैनन् । मात्रै बिउ बोका, पाठापाठी मात्रै छन् ।
उहाँकै फर्मबाट बिउ बोयर बाख्रा लगेर धेरैले आफ्नो बोयर बाख्रापालन गर्ने सपना पुरा गरेका छन् । बसाइसराइका कारण गाउँ रित्तो हुँदै गएको भन्दै पौडेलले धेरै किसानलाई निःशुल्क रुपमा घाँसका बिरुवा समेत वितरण गर्दै आउनुभएको छ । ६० रोपनी क्षेत्रफलमा नेपियर, सुपर नेपियर, सिओ फोर, सिओ थ्रि, पासकलम, मुलाटो, विस मेडियम, मुलारी, राईखनियो लगायतका उन्नत जातका घासँहरु समेत छन् । वालिङ वरपरका धेरै किसानलाई पौडेलले गाडीमै घाँसका बिरुवा लोड गरेर पठाइदिने गर्नुभएको छ ।
२०७५/२०७६ मा गण्डकी प्रदेशबाट मोडेल फर्मको योजना पार्नुभएका पौडेलले ५० प्रतिशत साझेदारीमा १२ लाखको योजनाले उहाँको फर्ममा कोशेढुंगा साबित गरिदियो । ६ लाख उक्त योजनाबाट पाउनुभएका पौडेलले शतप्रतिशत बोयर बाख्रा उत्पादन गर्ने लक्ष्यलाई अझ ऊर्जा थपिदियो । बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरबाट प्राविधिक सहयोग प्राप्त गर्दै आउनुभएका पौडेललाई पशु सेवा कार्यालयहरूबाट समेत सहयोग प्राप्त भएको थियो ।
पछिल्लो केही वर्षदेखि कृषकलाई हेर्ने दृष्टिकोण सकारात्मक भएको भन्दै ५ वर्ष अघिसम्म कृषकलाई हेर्ने नजर फरक रहेको उहाँ सम्झनुहुन्छ । आजभोलि बाख्रापालन व्यवसाय विस्तार हुँदै गर्दा बजारीकरण पनि त्यति सहज नभएको भन्दै आफूलाई गुनासो आउने गरेको पौडेलले बताउनुभयो ।
पौडेलले भन्नुभयो, ‘धेरै कृषकहरूले मेरो बाख्रा बिक्री गरिदिनुपर्यो भनेर मलाई फोन गर्नुहुन्छ । अगाडिका समयमा बजारको समस्या थिएन ।’