कृषिको दीगो विकासका लागि समन्वय अत्यावश्यक: नगर प्रमुख खनाल

कार्तिक १२, २०७८


कार्तिक १२, भीरकोट



भीरकोट नगर प्रमुख छायाराम खनालले कृषि क्षेत्रको दीगो विकासका लागि सरोकारवाला सरकारी र गैरसरकारी निकायबिच समन्वय अत्यावश्यक रहेको बताउनुभएको छ। आज नगरपालिकामा आयोजित कृषि क्षेत्रको विकासका लागि कार्य गरिरहेका सरकारी र गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू,नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला शाखा प्रमुखहरूबिच भएको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले भीरकोटको कृषि क्षेत्रको नतिजामुखी र प्रभावकारी विकासका लागि नगरपालिका सरोकारवाला सबै सँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो।गैरसरकारी र सरकारी दुबै निकायले कृषि क्षेत्रको विकासका लागि योजना तथा कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गर्दा स्थानीय निकाय सँग समन्वय गरेको खण्डमा एकै प्रकृतिका कार्यक्रम नदोहिरिने बताउँदै उहाँले समन्वय र सहकार्य भएमा लक्षित क्षेत्र तथा समुदायले रोजगारीका साथसाथै राम्रो प्रतिफल पाउने कुरामा जोड दिनुभएको थियो।



नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीको स्वागत मन्तब्यसँगै सुरु भएको कार्यक्रम परिचयात्मक रुपमा अगाडि बढेको थियो। स्वागत मन्तब्य व्यक्त गर्दै रेग्मीले छलफल कार्यक्रमको उद्देश्य प्रष्ट पार्नुभएको थियो। नगरपालिकाका कृषि सेवा परामर्श दाता द्रोण राज काफ्लेले भीरकोट नगरपालिकाको कृषि र पशु सम्बन्धी समग्र गतिविधिहरुको प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कृषि ज्ञान केन्द्रका स्याङ्जाका अधिकृत ईश्वरी प्रसाद अर्याल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन स्याङ्जाका टूक बहादुर थापा र दियालो संस्था वालिङका प्रमुख राधाकृष्ण डुम्रेले उहाँहरूले नेतृत्व गरेको संस्थाले गर्ने कामहरूका बारे प्रस्तुति दिनुभएको थियो।

कृषि विकास श्रोत केन्द्र वालिङका गंगालाल मण्डलले पनि सहकार्य आवश्यक रहेको बताउँदै कृषि विकास श्रोतले गर्दै आएका कार्यक्रमबारे प्रष्ट पार्नु भएको थियो। भीरकोट नगरपालिकाका पशु सेवा परामर्श दाता हुम नारायण श्रेष्ठले भीरकोट नगरपालिकाको पशु सेवा शाखाले सम्पादन गरेका कार्यक्रम बारे बोल्नुभएको थियो।आज सम्पन छलफल कार्यक्रमको संचालन भीरकोट नगरपालिकाका कृषि सेवा परामर्श दाता द्रोण राज काफ्लेले गर्नुभएको थियो।