बाँदर हेरालु पैयुँ सरकारको निर्णय

चैत ०६, २०८०


६ चैत्र २०८०, पर्वत

कृषकहरूको समस्या समाधानमा पर्वतका स्थानीय  जनप्रतिनिधिहरूले फरक अभ्यास गर्न खोजेका छन्। बाँदरले खेतीबाली खाएर हैरान पारेको गुनासो  बारम्बार आएपछि पर्वतको पैयूँ गाउँपालिकाले बाँदर हेरालु कर्मचारी राख्ने भएको हो।

बाँदर आतंकका कारण कृषि उत्पादनमा ह्रास आएको र किसानको खेतबारी बाँझो हुँदै गएको समस्यालाई मध्यनजर गर्दै पालिकाले १३ औँ गाउँसभाबाट बाँदर हेरालु राख्ने निर्णय गरेको वडा नं ५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए।

“बारम्बार किसानको गुनासो आएपछि कृषकमैत्री बन्दै पैयुँ गाउपालिकाले हेरालु राख्ने निर्णय गरेको हो। के कसरी अगाडि बढ्ने भन्ने विषयमा सरोकारवाला र कृषकहरूसँग छ्लफलमै छौँ।” वडा अध्यक्ष भूर्तेलले भने।

बाँदरले किसानको बाली खाईदिएर दु: ख दिएको कारण बाली  संरक्षण र किसानलाई खेती गर्न प्रोत्साहित गर्नकोको लागि बाँदर हेरालु कर्मचारी राख्ने निर्णय गरिएको पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए।

गाउँपालिकाको १३ औँ गाउँ सभाले हेरालु राख्ने विषयमा सर्वसम्मत निर्णय गरेको पालिकाले जनाएको छ। किसानको माग र आवश्यकता अनुसार ७ वटै वडामा बाँदर हेरालु राखिने अध्यक्ष ठकुरीले बताए।