कर सप्ताहको अवसरमा विविध कर चेतनामूलक कार्यक्रम

मङि्सर ०७, २०८०


नारायण प्रसाद कोइराला, स्याङ्जा
२०८० मंसिर ७, बिहीवार

१२ औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह जिल्लामा विविध कर चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने मूल नारा सहित मनाइएको कर सप्ताहको अवसरमा कर दाता सेवा कार्यालय पुतलीबजारले वकृत्वकला प्रतियोगिता, कर चेतनामूलक भिडियो प्रतियोगिता , कर शिक्षा कार्यक्रम , उद्योगी र व्यवसायीबिच अन्तरक्रिया , उत्कृष्ट करदातालाई सम्मान गरी मनाएको हो।

जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा आयोजित कर सप्ताह विशेष समारोहमा बोल्दै करदाता सेवा कार्यालय, पुतलीबजारका प्रमुख विजय भुसालले करदाताको कर सम्बन्धी समस्याको समाधानमा करदाता सेवा कार्यालय प्रतिबद्ध रहेको बताए। अधिकृत भुसालले कर सम्बन्धि समस्या भएमा कार्यालयमा सम्पर्क गर्न तर मध्यस्तकर्ताको पछि नलाग्न सुझाव दिएका थिए। बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइने जानकारी दिदै अधिकृत भुसालले उद्योगी, व्यवसायी र उनीहरूको छाता संगठनहरूसँग सहकार्य गरी कर शिक्षाको दायरा र प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कर सप्ताह समारोहमा उत्कृष्ट करदाताको सम्मान खिलुङ कालिका कन्सट्रक्सन प्रा.लि.लाई प्रदान गरिएको थियो। प्रा.लि. को तर्फबाट संचालक एवं व्यवस्थापक दिपक अर्यालले सम्मान ग्रहण गरेका थिए। सम्मानित भएका अर्यालले उत्कृष्ट करदाता बन्न सहयोग गर्ने सबैलाई धन्यावाद र खुशी व्यक्त गर्दै कर शिक्षाको दायरा र प्रभावकारितालाई वृद्धि गर्नुपर्ने सुझाव दिएका थिए।

सभाहलमै आयोजित वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरू ओजस्वी रेग्मी, आयुस्मा ढकाल र एलिसा के.सी. ले क्रमश: प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गरेका थिए। कर चेतनामूलक सर्ट भिडियो प्रतियोगितामा स्याङ्जाबाट एलिसा के.सी. को समूह र नवलपूरबाट होमनाथ न्यौपाने छनोट भएका छ्न्। प्रतियोगिताका विजेताहरूलाई नगद, प्रमाणपत्र र शिल्ड सहित पुरस्कृत गरिएको थियो।

कर सप्ताह विशेष समारोहमा उत्कृष्ट कर्मचारीको सम्मान डाटा इन्ट्री सुपरभाइजर सुवासचन्द्र मरासिनीलाई प्रदान गरिएको थियो।

कर सप्ताह समारोहमा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, आन्तरिक राजस्व कार्यालय, पोखराका कर अधिकृत शिव शर्मा, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ , स्याङ्जा चेम्बर अफ कमर्सका राजु अधिकारी लगायतले कर सम्बन्धी समस्या, करको दायरा, उपयोगिता र व्यवसायीहरूका समस्याका र समाधानका विषयमा बोलेका थिए। कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका कर्मचारी, शिक्षक, विद्यार्थी,उद्योगी, व्यवसायीहरूको सहभागिता रहेको थियो।