‘ग्याँस सिलिण्डर पालिकालाई,इन्डक्सन चुलो नागरिकलाई’

जेठ ०९, २०७९


मोहन सुनार,स्याङ्जा
९ जेठ २०७९
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले पालिकाबासी नागरिकको घरबाट ग्याँस चुलो फिर्ता लिएर इन्डक्सन चुलो निशुल्क प्रदान गर्ने भएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा

स्थानिय निर्वाचन २०७९ मा दोश्रो कार्यकालको लागि पुनस् निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले पदबहाली गरेसङ्गै गाउँबासिको लागि नि:शुल्क इन्डक्सन चुलो प्रदान गर्ने निर्णय गर्नुभएको हो।अध्यक्ष थापाले विगतको कार्यकालमा बाँकी योजनाहरु पूरा गर्ने प्रतिबद्धता सहित नागरिकको समृद्धिको लागि निरन्तर लागिपर्ने बताउनुभयो । सोमबार भएको पदबहाली कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले आगामी दुई वर्षभित्र गाउँपालिकाभित्रका हरेक युवा सिपयुक्त हुने घोषणा गर्नुभएको छ ।

गाउँपालिकाले आफ्नै लगानीमा सुरु गरेको आँधिखोला बहुप्राविधिक विद्यालय मार्फत युवावर्गलाई व्यवसायमुलक सिपयुक्त तालिम प्रदान गरि युवावर्गलाइ विदेस पलायन हुनबाट रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो पहिलो कार्यकालमा गाउँबासीको लागि नि:शुल्क स्वास्थ्य बीमा गरिएकोमा आगामी वर्षहरुमा पनि उक्त कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गबाट निरन्तरता दिने बताउनुभयो ।गाउँपालिकाबासी नागरिकको लागि मात्र गरिएको स्वास्थ्य बिमा अबदेखी गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारिहरुको लागि पनि निशुल्क रुपमा गरिने अध्यक्ष थापाले बताउनुभयो ।

वर्तमान अवस्थामा नेपालको व्यापार घाटा बढिरहेको अवस्थामा इन्डक्सन चुलो वितरणबाट खाना पकाउले ग्याँस लगायतका इन्धनमा भएको निर्भरता कम हुने र व्यापार घाटा पनि घट्ने विश्वास व्यक्त गर्नुभयो ।विद्युत उत्पादनमा देश आत्मनिर्भर भैरहेको अवस्थामा इन्धन आपुर्तिमा विद्युतिय समाग्रीको उपयोग बढाउनुपर्ने उहाँको तर्क छ ।
उहाँले कालिगण्डकी गाउँपालिकामा अझैपनी विद्युतिय आपूर्ति सहज नभएकोले आपुर्तिमा सहज बनाउन गाउँपालिकाले विशेष पहल गर्ने स्पष्ट पार्नुभयो ।



गाउँपालिकाले नागरिकको लागि न्युनतम विद्युत महशुल नि:शुल्क गरेको स्मरण गर्दै अध्यक्ष थापाले आगामी वर्षहरुमा अझ थप सुविधा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

पदबहाली गर्दै गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले विगतको कार्यकालमा बाँकी रहेका हरेक योजनाहरु यस कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइराला

न्यायिक क्षेत्र,युवा स्वरोजगार ,महिला सशक्तीकरण लगायतका क्षेत्रमा विशेष योजनासहित काम गर्ने उल्लेख गर्दै कोइरालाले महिलाहरुलाइ उत्पादनको क्षेत्रमा क्रियाशील बनाउने बताउनुभयो ।थापा र कोइराला कालिगण्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा पुन: निर्वाचित हुनुभएको हो।