सिलिण्डरमुक्त गाउँपालिका बनाउन निशुल्क विद्युतीय चुल्हो वितरण 

साउन १२, २०८०


नारायणप्रसाद कोइराला, स्याङ्जा
१२ साउन २०८०

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकालाई सिलिण्डरमुक्त बनाउन निशुल्क विद्युतीय चुल्हो वितरण गरेको छ। “एक घर, एक विद्युतीय चुलो” बनाउने अभियानका साथ कालिगण्डकी गाउँपालिका अगाडि बढिरहेको र आगामी २ वर्षभित्र ग्यास सिलिण्डरमुक्त गाउँपालिका बनाइने गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए।पालिकाभित्रका ४ हजार ७ सय परिवारको भान्साबाट परम्परागत र सिलिण्डर चुलो विस्थापित गरी धुँवारहित पालिका बनाउने अभियान निम्ति अनुमानित २ करोड खर्च हुने  पालिका अध्यक्ष थापाले बताए ।

“ग्याँस विस्थापन गरौं, विद्युतको उपयोग बढाऔं” भन्ने नाराका साथ आर्थिक वर्ष २०७९/८० देखि अभियानका रूपमा संचालन गरिएको यो अभियानले आर्थिक वर्ष २०८१/८२ पूर्णता पाउने र वार्षिक ५ करोड बजेट रूपैयाँ बचत हुने पालिका अध्यक्ष थापाले जानकारी दिए।

गाउँपालिकाका उपाध्यक्ष सावित्री कोइरालाले  पालिकाको मूल नारा “समृद्ध गाउँपालिका, सुखी नागरिक” लाई मूर्तरूप दिन विद्युतीय चुल्हो वितरण गरिएको बताइन् । विद्युतीय चुल्होले गृहणीहरूको स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने भएकाले नियमित रूपमा प्रयोग गर्न उनले लाभग्राहीलाई अनुरोध गरेकी छ्न्।

पालिकालाई ग्यास सिलिण्डर मुक्त गाउँपालिका बनाउन निशुल्क विद्युतीय चुलो वितरणलाई अभियानकै रूपमै अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए। उनका अनुसार विद्युतीय चुलो वितरणका लागि  लाभग्राहीको घरको विद्युतीय पूर्वाधारको अवस्था सर्वेक्षण गरिसकिएको छ। कम्तिमा १६ एम्पिएर क्षमता बराबरको मिटर जडान र  वाएरिङ भएका  १ सय ६१ लाभग्राहीलाई पहिलो चरणमा   विद्युतीय चुल्हो वितरण गरिएको प्रशासकीय अधिकृत पाण्डेयले जानकारी दिए। लाभग्राहीको आवश्यकता अनुसार इन्फ्रारेड र इन्डक्सन दुबै प्रकृतिको विद्युतीय चुल्हो उपलब्ध गराइएको पालिकाले जनाएको छ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी


विद्युतीय चुल्हो पाएपछि गृहणीहरू खुशी भएका छन्। कालिगण्डकीकी विमला पाण्डेले खुशी हुँदै भनिन्, ” अब  म यो चुल्हो नियमित र सुरक्षित तरिकाले प्रयोग गर्छु। स्वास्थ्य राम्रो हुने  र पैसाको पनि बचत हुने भएकाले म खुशी छु।”

कालीगण्डकी गाउँपालिकामा देशकै ठूलो मध्येको १४४ मेघावाटको  कालीगण्डकी जलविद्युत केन्द्र   रहेको छ।पालिकाभित्र करिब ४ हजार ७ सय घरधुरी रहेका छ्न्।विगत ४ वर्षदेखिनै पालिकाले न्युनतम २० युनिटसम्म  विद्युत निशुल्क उपलब्ध गराउँदै आएको छ। करिब १५० लक्षित घरधुरीलाई पालिकाले यस अघि नै विद्युतीय चुल्हो वितरण गरिसकेको छ। पालिकाबाट प्राप्त विद्युतीय चुल्होको दुरुपयोग गर्ने वा प्रयोग नगर्ने लाभग्राहीलाई चुल्होको मूल्यको दोब्बर जरीवाना गर्ने पालिकाले जनाएको छ।