वैकल्पिक बाटोको आयोजनामा “बुह्रान” विमर्श एवम् रचना वाचन

फागुन ०७, २०७९


स्मार्ट संवाददाता, वालिङ
७ फागुन २०७९

विज्ञापन

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान, स्याङ्जाको आयोजनामा युवा आख्यानकार महानन्द ढकालको नवीनतम आख्यान कृति ” बुह्रान ” को विमर्श एवम रचना वाचन गरिएको छ। थारू समुदायको उद्गमस्थल बर्दिया कैलाली र कञ्चनपुरलाई जनाउने शब्द बुह्रान शीर्षक दिइएको औपन्यासिक कृतिमा थारू समुदायको कथा समेटिएको छ।आइतबार अर्थात प्रजातन्त्र दिवसका दिन वालिङ, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्टको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट आमन्त्रित व्यक्तित्वत्रय डा. अच्युतशरण अर्याल, नारायणप्रसाद ज्ञवाली र वेदप्रसाद अर्यालद्वारा सारगर्भित मन्तव्यसहित आफ्नो उत्कृष्ट रचना प्रस्तुत गरेका थिए।कार्यक्रममा सिजन अर्याल, स्मारिका अर्याल, तोलाकान्त बगाले, बोधराज न्यौपाने, गिरधारी अर्याल राजु, पारिश्वर न्यौपाने, गोपालप्रसाद न्यौपाने, वसन्ती अधिकारी, सुदीप सुवेदी, मालारानी थापा क्षेत्री, लक्ष्मीप्रसाद ढकाल र विष्णुप्रसाद ढकाल लगायतका साहित्यकारहरूले आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए।

यसै समारोहमा वैकल्पिक बाटो पृथक पाइला
सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको तर्फबाट महानन्द ढकाललाई ढाकाको टोपी लगाएर सम्मान गरिएको थियोे ।अभियानका संस्थापक सहयात्रीद्वय वसन्त खनाल र शम्भु अर्यालद्वारा ” बुह्रान ” कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको उक्त समारोहको सहजीकरण अभियानका संस्थापक संयोजक मिलन समीरद्वारा गरिएको थियोे ।