साङ्गीतिक कोसेली ‘झल्को मेटियो’ बजारमा

असोज ०३, २०७९


युवराज पौडेल, स्याङ्जा
३ असोज २०७९

इन्जिनियर पेसामा ख्याति प्राप्त गरेका युवा अर्जुन नेपालीले आफ्नो पहिलो साङ्गीतिक कोसेली ‘झल्को मेटियो’ बजारमा ल्याउनुभएको छ ।
‘झल्को मेटियो’ गीत अर्जुन नेपालीको अफिसियल युट्युब च्यानलमार्फत् श्रोता र दर्शकमाझ प्रस्तुत गरिएको हो । यो गीतमा वरिष्ठ लोक गायक राजु परियारको लय र शब्द रहेको छ । अर्जुन नेपाली र लक्ष्मी खड्काको स्वर रहेको यो गीतमा सङ्गीत संयोजन सुनिल परियारले गर्नुभएको छ । निशान बानियाले निर्देशन गरेको यो गीतमा अर्जुन नेपाली, लक्ष्मी खड्का, आरुषी मगर, सुनिल परियारको अभिनय रहेको छ ।
गीतमा ‘नक्कलेलाई भेटियो झल्को मेटियो’ भनेर केटीले सम्बोधन गरेको र केटाले फुलमाया भन्दै केटीलाई सम्बोधन गर्दै दोहोरी गाइएको छ । यो गीतमा ‘फुलमायालाई भेटियो झल्को मेटियो’ भन्दै विषयवस्तु अगाडि बढाइएको छ । सरकारी जागिर खाएर जागिरको सिलसिलामा अगाडि बढिरहँदा आफनो बालापनदेखि स्कुलको अध्ययनसम्मको समयमा नजिक भएकी मायालुलाई बिर्सन पुगेको भन्ने भावसहितको प्रेमसन्दर्भलाई गीतको कथानक बनाइएको छ ।
स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा जन्मिएका नेपाली सडक विभागको स्थायी इन्जिनियर हुनुहुन्छ। नेपालीले सामाजिक परिवेश अनुसार किशोरावस्थाको परिकल्पना गर्दै बैंसमा देखिएकी मायालुलाई उच्च शिक्षा अध्ययन र जागिरको बाध्यताले गर्दा छोड्नुपरेको र लामो समयपछि सरकारी जागिरे भएर मोटरबाटोको सर्भेमा जाँदमा पुनः उही मायालु भेटिएको प्रसङ्गलाई गीतमा कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको छ।