वालिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
स्मार्ट अखबार संवाददाता ,
४ बैशाख २०७९
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटना परी ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्बरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका बिरबहादर डाला मगर, वर्ष ४० की हिराकुमार डाला, ३५ वर्षकी सर्भिला सारु, उनका वर्ष ७ का छोरा गौरब सारु र वालिङ नगरपालिका १४ की वर्ष ४५ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भिर घाईते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पताल वालिङमा ल्याईएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना गम्भिर घाईतेहरुलाई उपचारका लागि पोखरा पठाईएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते हुनेमा वर्ष ६० वर्षका अंगबहादुर डाला, ५७ का दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु रहेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।
जिप सडकबाट झण्डै एक सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । जिपमा ११ जना सवार रहेका बताईएको छ ।