स्मार्ट अखबार संवाददाता
१८ असार २०७९

भीरकोट जेसिजको आयोजनामा भीरकोट खेलमैदानमा वृक्षारोपण गरिएको छ। खेलमैदानको आँधीखोला पट्टीको किनारमा धुपी, समी, पिपल, कल्की लगायतका करिब १०० बिरुवा रोपिएको हो। जेसिज पदाधिकारी र बयरघारी फुटबलको सक्रियतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नगर प्रवक्ता दिपेन्द्र के.सी. , प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसाल, जनप्रतिनिधिहरू, नेपाली काँग्रेस भीरकोटका सभापती यामप्रसाद अधिकारी(लक्ष्मण) , जेसिजका पूर्व केन्द्रिय उपाध्यक्ष अमृत अर्याल लगायतका व्यक्तित्वहरू र समाजसेवीहरूको उपस्थिती रहेको थियो।प्रशासकीय अधिकृत भूसाल र नगर उपप्रमुख अर्यालले संयुक्तरूपमा वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
भीरकोट जेसिजले मानवताको सेवा, व्यक्तित्व तथा नेतृत्व विकास र वातावरण संरक्षणमा समेत विशेष योगदान गर्दै आएको छ। वृक्षारोपण गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै भीरकोट जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेलले विरूवा नहुर्कन्जेल भीरकोट जेसिजले उक्त विरूवाहरूको हेरचाह र संरक्षण गर्ने बताउनुभयो। बयरघारी फुटबल क्लबका अध्यक्ष एवं वृक्षारोपण कार्यक्रमका संयोजक राजकुमार गुरूङले खेलमैदानको व्यवस्थित र दीगो विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो। उहाँले बिरुवा संरक्षणमा फुटबल क्लबले पनि ध्यान दिने बताउनुभयो।
