जेसिजद्वारा खेलमैदानका बोटविरूवा गोडमेल

फागुन ०९, २०७९


स्मार्ट संवाददाता, भीरकोट
९ फागुन २०७९

विज्ञापन

बिज्ञापन
विज्ञापन

भीरकोट जेसिजले भीरकोट खेलमैदानमा रहेका बोटविरूवाहरूको गोडमेल एवं मलजल गरेको छ। बयरघारी बजार नजिकै आँधिखोलाको छेउमा रहेको नगर खेलमैदानको किनारमा रोपिएका विरूवालाई गोबर मल सहित गोडमेल र मलजल गरिएको हो। गत असार १८ गते निवर्तमान अध्यक्ष जेसी कृष्ण प्रसाद पौडेलको नेतृत्वमा रोपिएका धुपी, अशोका, वर, पिपल , कल्की लगायतका ५ दर्जन भन्दा बढी विरूवाको गोडमेल र मलजल गरिएको कार्यक्रम संयोजक राजकुमार गुरूङले जानकारी दिए।वर्ष २०२२ का अध्यक्ष पौडेलले गरेको प्रतिबद्धता अनुसार वर्ष २०२३ का अध्यक्ष सुन्दर कोइरालाको नेतृत्वमा गोडमेल र मलजल गरिएको भीरकोट जेसिजले जनाएको छ।

भीरकोट जेसिजका सदस्यहरूको सक्रिय सहभागिता रहेको गोडमेल एवं मलजल कार्यक्रममा कृषि शाखा प्रमुख किसन अर्यालको सहयोगमा रोपिएका सबै विरूवाको नेपाली, अंग्रेजी र वैज्ञानिक नाम सहितको ट्याग समेत टाँगिएको छ।

तर अझै अलपत्र छ खेलमैदान

“एक स्थानीय तह एक खेल मैदान” को नीति अनुसार निर्माण गरिएको भीरकोट खेल मैदान अझै अलपत्र छ। प्रदेश सरकारको लगानीमा निर्माण भएको खेलमैदानमा हाल सम्म करिब ५० लाख खर्च भैसकेको छ। वर्तमान नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको नेतृत्वमा गठित उपभोक्ता समितिले निर्माण गरेको उक्त खेल मैदान अझै निर्माण सम्पन्न हुन सकेको छैन। खेलमैदान भरी घाँस, झारपात, ढुङ्गाहरू छ्न्। खेलमैदानमा बनाइएको स्टेजमा माटो पोतिएको छ, भित्तामा अस्लिल शब्दहरू समेत कोरिएका छ्न्। खेलमैदान पुग्दा लाखौं रूपैयाँ खर्चेर बनाइएको संरचनाको निर्माण कार्य सम्पन्न , सदुपयोग र संरक्षण गर्न पालिकाले चासो लिएको आभाष नै हुँदैन।एक वर्ष अगाडि स्मार्ट अखबारसँग गरेको कुराकानीमा तत्कालिन उपभोक्ता समितिका अध्यक्ष एवं वर्तमान नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले छिट्टै निर्माणको काम सकेर खेलमैदान संचालनमा ल्याउने बताएका थिए। तर खेलमैदान भने अझै अलपत्र अवस्थामा छ।