अब वालिङमै जलविहार !

भदौ २४, २०७९


नारायण प्रसाद कोइराला, वालिङ
२४ भाद्र २०७९

स्याङ्जाको प्रसिद्ध शहर वालिङमा ६३ करोडको लागतमा जलविहार परियोजना बनाइने भएको छ। स्याङ्जाको सभ्यता र पहिचान बोकेको आँधिखोलालाई व्यवस्थित तरिकाले नियन्त्रण गरेर वालिङमा नयाँ पर्यटन प्रबर्द्धन योजना कार्यान्वयन गर्न खोजिएको हो। स्याङ्जाको आर्थिक गतिविधिको प्रमुख केन्द्र रहँदै आएको वालिङमा पर्यटकीय र व्यवसायिक गतिविधि वृद्धि गर्न सो योजना अगाडि सारिएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।

आँधिखोला बहुउद्देश्यीय जलविहार परियोजना नाम दिइएको योजना कार्यान्वयन गर्न ६३ करोडको लाग्ने अनुमान गरिएको छ। करिब १२ लाख लगानीमा प्लेटफर्म इन्जिनियरिङ कन्सट्रक्सन एण्ड कन्सल्टेन्सीले परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेको छ । प्रारम्भिक सम्भाव्यता अध्ययनबाट परियोजना आर्थिक रूपमा फलदायी रहेको तर विस्तृत वातावरणीय अध्ययन गर्न बाँकी नै रहेको नगरपालिकाका इन्जिनियर ध्रुब रेग्मीले जानकारी दिनुभयो।

४० वर्षसम्म उक्त परियोजनाबाट प्रतिफल लिन सकिने र ६ देखि १० वर्षमा लगानी उठाउन सकिने प्रारम्भिक सम्भाव्यता अध्ययनले देखाएको छ। यो परियोजना नगर विकास कोषबाट स्वीकृत भैसकेको छ र कोषले समेत परियोजना कार्यान्वयनमा रुचि देखाएको छ। पूर्वाधार विकास बैंक समेत वास्तविक लगानी र प्रतिफलबारे विस्तृत अध्ययन गर्न वालिङ आउने तयारी रहेको छ। परियोजना निर्माणका लागि ऋण लगानी जुटाउन कुनै समस्या नरहेको भएपनि पिपिपी मोडलमा बनाउँदा नगरले बढी प्रतिफल पाउने भएकाले सोही अनुसार गर्न लागिएको पालिकाका सूचना अधिकारी ज्ञान प्रसाद अर्यालले जानकारी दिनुभयो।

परियोजना अनुसार सुर्कौदी र मालेबगरको बिचमा १.५ किलोमिटर दुरीमा १३ मिटर अग्लो ७४ मिटर चौडाइ भएको २ वटा चेक ड्याम निर्माण गरिने छ। चेक ड्याम निर्माण सँगसँगै नदि किनारको तटबन्धनलाई पनि थप बलियो र व्यवस्थित बनाइने छ। चेकड्याम र तटबन्धन निर्माण पश्चात् मालेबगर देखि सरसफाइ केन्द्र भन्दा २०० मिटर माथी रहेको झोलुङ्गे पुलसम्म ३ किलोमीटर जलबिहार क्षेत्र निर्माण हुने नगरपालिकाका इन्जिनियर ध्रुब रेग्मीले जानकारी दिनुभयो। परियोजना निर्माणपछि आँधिखोलाको पानीको सतह अहिले भैरहेको भन्दा ८मिटर माथि आउने छ। पर्यटकहरूलाई सुविधा दिन नदि किनारको दायाँबायाँ व्यवस्थित सडक र सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट पनि निर्माण गरिनेछ। पव्लिक प्राइभेट पार्टनर्सिप मोडलमा योजना कार्यान्वयन गरिने छ। परियोजनाले वार्षिक ९४ हजार आन्तरिक पर्यटकलाई जलबिहारको मनोरञ्जन दिने अपेक्षा गरिएको छ। यो नगरपालिकाको गौरवको आयोजना हुने छ। जलविहार क्षेत्रमा करिव १सय वटा साना डुङ्गाहरू संचालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ।

परियोजनाले पर्यटन प्रवर्धन, जलबिहार, नदि नियन्त्रण, मत्स्यपालन, नदीजन्य सामाग्रीको व्यवस्थापन, नदीको गहिराइ नियन्त्रण गर्न नेचुरल वाटर रिचार्ज सिष्टमलाई कायम राख्न सहयोग पुर्याउने छ।