मोबाइलमा इन्टरनेट चलेन ? यी ५ ट्रिक्स प्रयोग गर्नुहोस्

जेठ २०, २०८१


काठमाडौं । कहिलेकाहीँ इन्टरनेट सेवाप्रदायकबाट नभई प्रयोगकर्ताको तर्फबाट हुने गल्तीका कारण पनि मोबाइलमा इन्टरनेटको समस्या देखिन सक्छ । विशेष गरेर इन्टरनेटमा झट्टै गर्नुपर्ने काम छन् भने यो तनावको विषय पनि हुन्छ ।

यदि तपाईंसँग इन्टरनेटको शुल्क अनुसारको मिति अझै बाँकी छ । तर मोबाइलमा कनेक्ट भइरहेकाे छैन भने यी निम्न उपाय प्रयाेग गर्न सक्नुहुन्छ:

१. फोन रिस्टार्ट गर्ने

यो निकै साधारण तरिका हो । तर फोन रिस्टार्ट गर्दा कहिलेकाहीँ धेरै प्राविधिक समस्या समाधान हुने गर्छ । यसमा इन्टरनेटको समस्या छुट्ने कुरै भएन । यदि आफ्नो मोबाइल फोनमा इन्टरनेट चलिरहेको छैन भने सुरुमा तपाईंले मोबाइललाई रिस्टार्ट गर्न सक्नुहुन्न ।

त्यसो गर्दा नेटवर्क कनेक्सनमा भएका अस्थायी समस्या समाधान हुन्छन् । यदि रिस्टार्ट गर्न मन छैन भने तपाईंले एयरप्लेन मोडमा अन/अफ समेत गर्न सक्नुहुन्छ ।

२. फोन र एप अपडेट गर्ने



यदि तपाईंको फोनमा नयाँ सफ्टवेयर अपडेट आएको छ भने इन्स्टल गर्नु बुद्धिमत्ता हुन्छ । किनकी नयाँ सफ्टवेयरमा विभिन्न समस्या समाधान भएर आएका हुन्छन् ।

यसअघिका बग हल हुनुका साथै नयाँ फिचर पनि आएका हुन्छन् । अर्थात् तपाईंले आफ्नो फोन धेरै पुरानो छैन भने अपरेटिङ सिस्टमको सबैभन्दा पछिल्लो भर्सन राख्नु राम्रो हुन्छ ।

३. क्याश क्लियर गर्ने

धेरै समयसम्म क्याश डेटा हुँदा पनि फोनमा धेरै लोड पर्छ । फलस्वरुप फोन ढिलो चल्ने, इन्टरनेटको गति कम हुने जस्ता समस्या आउँछन् । यस्तो समस्या हुन नदिन आफ्नो फोनको क्याश डेटा नियमित रूपमा डिलिट गर्न सक्नुहुन्छ ।

कुनै पनि ब्राउजर अथवा एपको क्याश डेटा डिलिट गर्न सजिलो छ । त्यस्तै यदि तपाईंले ब्याकग्राउन्डमा धेरै एप खोल्नु भएको छ अथवा ब्राउजरमा धेरै ट्याब खोल्नु भएको छ भने पनि इन्टरनेट स्लो हुन सक्छ ।

४. डेटा युसेज र ब्याकग्राउन्ड एप जाँच गर्ने

एकैपटक धेरै डेटा प्रयोग गर्दा अथवा धेरै एप खोल्दा इन्टरनेटको गति कम हुन सक्छ । तपाईंले आफ्नो सेटिङबाट कुन एपले कति डेटा लिइरहेको छ भनेर जाँच गर्न सक्नुहुन्छ ।

यसका साथै तपाईंले ब्याकग्राउन्ड डेटा युसेजको सीमा पनि लगाउन सक्नुहुन्छ । यसो गर्दा तपाईंले आफूलाई चाहिने एपका लागि इन्टरनेट मजाले पाउन सक्नुहुन्छ ।

५. नेटवर्क सेटिङ रिसेट गर्ने

यदि तपाईंले माथि उल्लेख गरिएका उपाय कोसिस गरिसक्नु भयो, तर पनि समस्या आइरहेको छ भने आफ्नो नेटवर्क सेटिङ रिसेट गर्न सक्नुहुन्छ । यसो गर्दा फोनमा भएका सबै नेटवर्क सेटिङ पूर्ववत् अवस्थामा जान्छन् ।

यसका लागि फाेनमा सेटिङ>सिस्टम>नेटवर्क हुँदै रिसेट नेटवर्क सेटिङमा जानुहाेस् । यसो गर्दा सम्झनु पर्ने कुरा तपाईंले सेभ गरेका वाई-फाई र ब्लुटुथ कनेक्स पनि सबै डिलिट हुन्छन् ।

(टेक पानाबाट साभार)