वालिङमा राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तरक्रिया

साउन २८, २०७९


नारायण प्रसाद कोइराला , वालिङ
२८ साउन २०७९

पूर्व संचारकर्मी रवि लामिछानेको नेतृत्वमा गठित राष्ट्रिय स्वतन्त्र पार्टीले वालिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वतस्फूर्त रूपमा संगठित हुन चाहने युवाहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश समिती एवं थिङ्क ट्याङ्क सदस्य मेघ बहादुर आले मगरले अहिंसा , शान्ती, संवाद र सकारात्मक सोचले मात्र देशमा जनताले अपेक्षा गरेअनुसारको परिवर्तन आउने बताउनुभयो। देशमा भएका स्रोत र साधनको सही सदुपयोग आजको आवश्यकता रहेको बताउँदै उहाँले पुराना पार्टीहरूले देशको आवश्यकता अनुसार काम गर्न नसकेकाले देश भड्खालोमा जाकिएको आरोप लगाउनुभयो। उहाँले पुराना पार्टीको नातावाद, कृपावाद र भ्रष्टाचारवादको अन्त्य गर्दै देशलाई संवैधानिक समाजवाद र समृद्धिको यात्रामा अगाडि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टीको अभ्युदय भएको प्रष्ट पार्नुभएको थियो। युवाहरू परिवर्तनको संवाहक भएकाले देशको मुहार फेर्न स्वतन्त्र पार्टीमा आवद्ध हुन समेत आग्रह गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै जिल्ला सभापति डिल्लीराम कोइरालाले पुराना पार्टीले जनताहरूलाई सरकार छ भन्ने अनुभूति दिलाउन नसकेको र देशलाई भन्दा पनि आफ्नो परिवारलाई समृद्ध बनाउन लागि परेकाले स्वतन्त्र पार्टीको जन्म भएको बताउनुभयो। कोइरालाले भ्रष्टाचार नियन्त्रण र सुशासन सहितको विकासका लागि सम्पूर्ण युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वतस्फूर्त रूपमा आवद्ध हुन आवश्यक रहेको बताउनुभयो।

प्रदेश समिती सदस्य विश्वास भण्डारीले स्वतस्फूर्त रूपमा स्वतन्त्र पार्टीमा सहभागी हुन चाहनुभएका युवा साथीहरूको उत्साह देखेर आफू थप उत्साहित भएको बताउनुभयो। प्रदेश सदस्य भण्डारीले पार्टी संगठन विस्तार र चुनावी अभियानमा सँगसँगै होमिएकाले पार्टीमा आवद्ध हुन चाहने सम्पूर्ण युवाहरूले जिम्मेवार तरिकाले अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै प्रदेश समिती सदस्य एवं सूचना विभाग प्रमुख बोधराज रेग्मीले देशको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनका लागि युवाहरू एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बन्न कुनै शुल्क नलाग्ने बताउँदै उहाँले पार्टीमा पाँच तहको संगठन रहेको जानकारी दिनुभयो। पार्टीलाई आर्थिक रूपमा बलियो बनाउन स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न सकिने बताउनुभएको थियो। व्यक्तिगत स्वार्थ भन्दा पनि समाज र देश परिवर्तनको स्वार्थ बोकेर स्वतन्त्र पार्टीमा आवद्ध हुन उहाँको सुझाव थियो। पार्टीले निशुल्क स्वास्थ्य सेवा र गुणस्तरीय सार्वजनिक शिक्षाको कार्यक्रम अगाडि सारेकाले मंसिर ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्ने वातावरण सृजना गर्न उहाँले आग्रह गर्नुभएको थियो।



अन्तरक्रिया कार्यक्रममा निमेष न्यौपाने , गणेश डुम्रे, टिकराज गुरूङ, उत्तम खनाल लगायतका वक्ताहरूले आफ्नो विचार राख्नुभएको थियो। वक्ताहरूले सुशासन, रोजगारी, विकास , सामाजिक न्याय, अनियमितता र भ्रष्टाचार नियन्त्रण देशको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो। उहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले देश र जनताको आवश्यकता अनुसार काम गर्ने आशा, भरोसा र विश्वास व्यक्त गर्नुभएको थियो। अन्तरक्रिया कार्यक्रमको संचालन जिल्ला कार्यसमितिका सचिव रमेश पोख्रेलले गर्नुभएको थियो।सुरेन्द्र काफ्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरूलाई मेघराज डुम्रेले स्वागत गर्नुभएको थियो।