स्याङ्जामा गार्डियन लघु बीमा कम्पनीको नयाँ शाखा
असोज २२, २०८०

नारायणप्रसाद कोइराला, स्याङ्गजा
२२ असोज २०८०, सोमबार
नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन लघु जीवन बीमा कम्पनीले स्याङ्जाको पुतलीबजारमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ।न्यून आय भएका व्यक्ती,गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग , श्रमिक वर्ग लगायतका नागरिकहरूलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यले स्थापित लघु बीमा कम्पनीले आफ्नो तेस्रो शाखाको रूपमा पुतलीबजार शाखा संचालनमा ल्याएको हो।
पुतलीबजार शाखाको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरूप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे। नगर प्रमुख रेग्मीले कम्पनीको लक्ष्य हासिल गर्नको लागि पालिकाले पनि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। लक्षित वर्ग लाभान्वित हुने तरिकाले काम गरेमा पालिकाले सक्दो सहयोग गर्ने उनले बताए।
नगर उपप्रमुख देवी अर्यालले लघु बीमा नयाँ अवधारणा भएकाले सरोकारवाला सबैले व्यापक प्रचारप्रसार गरी लक्षित समुदाय सम्म पुर्याउन आवश्यक रहेको बताइन्। महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न उनले सुझाव दिएकी थिइन् । निम्न तथा मध्यम वर्गीय समुदाय लाभान्वित हुने गरि काम गरे पुतलीबजार नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उनको भनाई थियो।
मार्केटिङ हेड कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ती,गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग , श्रमिक वर्ग बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताए। ग्रामीण बस्तीमा बीमा प्रतिको चेतना अभिवृद्धि गर्न कम्पनीले विशेष प्राथमिकता दिएको बताउँदै देवकोटाले पेपरलेस तरिकाले डिजिटल प्रविधीको प्रयोग गरी बीमा सुविधा प्रदान गरिने बताए। वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै देवकोटाले गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको प्रष्ट पारेका थिए।
