आँधीखोला बगर क्षेत्रको प्रारम्भिक वातावरणीय परिक्षण आईईको सार्वजनिक सुनुवाई सम्पन्न

कार्तिक २६, २०७७


भीरकोट खबर डेस्क:


स्याङ्जाको भीरकोट नगरपालिका क्षेत्र अन्तर्गतको आँधीखोलाको बगर क्षेत्रमा तोकिएको स्थानवाट ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा संकलन कार्यका लागि प्रारम्भिक वातावरणीय परिक्षणको आईई् प्रतिवेदनको सरोकारवालाहरुको विच तमु समाजको भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बाेल्दै नगर प्रमुख छायाराम खनालले भीरकोट नगर क्षेत्र भित्र रहेको आँधीखोलाको संरक्षण र प्रवर्द्धनका लागी सम्बन्धित विषयका परामर्शदातासंग छलफल गरी नव विकास निर्माणको लागी आवश्यक पर्ने निर्माण सामग्री उत्खनन गर्नको लागी आईई तयार गरेको बताउनुभयो जस्ले गर्दा आँधिखोलाले वरपरको जमिन र वातावरणलाई क्षती नपुर्याउने र वढी व्यवस्थीत हुने उहाँको भनाई थियो ।
भीरकोट नगरपालिकाको प्रमुख आयस्रोतको रुपमा रहेको आँधीखोलालाई व्यवस्थीत रुपमा संरक्षण गरी आँधीखोलावाट गुणस्तरीय ढुंगा, गिट्टी, बालुवा उत्खनन हुने भएकाले यसको सही सदुपयोग गरेमा नगरपालिकाको आर्थिक स्रोतको रुपमा विकास गरी बढीमात्रामा राजश्व संकलन गर्न सकिने नगर उप प्रमुख सिमा केसी कर्मार्चाले बताउनु भयाे ।


प्रमुख खनालले सरोकारवालाहरुवाट उठेका प्रश्नहरुको सम्बोधन गर्दै आँधीखोलाले खेतीयोग्य जमिनहरुलाई कटान गर्दैै गएको अवस्थामा अवको दिनमा सो अवस्था आउन नदिनको लागी आईईको मापदण्ड अनुरुप आँधीखोलामा थुप्रिएर रहेका ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा संकलन गरी उपभोक्ताहरुलाई सर्वसुलव रुपमा बिक्री वितरण गर्ने कार्यको थालनी भैसकेको बताउनु भयाे ।
परामर्शदाताको रुपमा रहेको रिभु कन्स्ट्रक्सन काठमाण्डौका प्रतिनिधिले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गर्नुको औचित्य, कानुनी प्रावधान र आँधीखोलाको आइईको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेल, जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
रिभु कन्स्ट्रक्सन काठमाण्डौका व्यवस्थापक विप्लव पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भीरकोट खबर डट कमका प्रधान सम्पादक चुत्र महत एशिवले गर्नुभएको थियो ।