काङ्ग्रेस सरकारकै स्वास्थ्य नीति अनुसार देश अगाडि बढेको छ: पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

फागुन १९, २०७८


स्मार्ट अखबार संवाददाता ,
१९ फागुन २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री श्रेष्ठले नेपाली कांग्रेसको सरकारले बनाएको स्वास्थ्य नीति अनुसार देशका हरेक पालिकाका वडा वडामा स्वास्थ्य चौकी स्थापना भएको बताउनुभएको छ।स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ८ मा नवनिर्मित “ढापुक  स्वास्थ्य चौकी”  को समुद्घाटन गर्दै उहाँले सो कुरा भन्नुभएको हो।बहुदलीय प्रजातन्त्रको सुरूवात सँगै ४८ सालदेखी स्याङ्जा जिल्लाका सडक , पक्की पुल र झोलुङ्गे पुलको विकासमा निरन्तर लागि पर्नुभएका श्रेष्ठले भन्नुभयो, ” स्याङ्जाको विकासमा जीवनपर्यन्त लाग्नेछु। स्याङ्जाका आँधीखोला, फेदीखोला, बाडखोला, ज्याग्दीखोलामा बनेका अनगिन्ती पक्की र झोलुङ्गे पुलको कारण नै स्याङ्जाली जनताले अकालमा ज्यान गुमाउनु परेको छैन। तुइन यात्रा गर्नुपरेको छैन्।”

समुद्घाटन कार्यक्रममा बोल्दै भीरकोट नगरप्रमुख छायाराम खनालले शिक्षा र स्वास्थ्यको विकासमा नगरपालिकाले सक्दो प्रयास गरिरहेको र कुनै पनि स्वास्थ्य संस्थामा कहिल्यै पनि औषधिको अभाव नरहेको दाबी गर्नुभएको थियो। हरेक वडामा आधारभूत स्वास्थ्य सेवा तथा सुविधा पुगेको बताउँदै उहाँले आमा र बच्चाको स्वास्थ्य र पोषणका लागि गर्भवती महिलाहरूलाई निशुल्क अण्डा वितरण गरिरहेको जानकारी दिनुभयो।शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गरि जनतालाई निशुल्क गुणस्तरीय सेवा दिन सकेमा मात्र भ्रष्टाचार अन्त्य हुने दाबी गर्दै उहाँले भीरकोट नगरपालिकाले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न भरमग्दुर प्रयास गरिरहेको कुरामा जोड दिनुभएको थियो। कार्यक्रममा जनएकता युवा क्लबका अध्यक्ष घनबहादुर गुरुङ , नगर प्रवक्ता दिपेन्द्र के.सी, नेपाली कांग्रेस नगर सभापति याम प्रसाद अधिकारी, बोर्ड सदस्य विष्णुमाया काफ्ले लगायतका व्यक्तित्वहरूले मन्तव्य दिनुभएको थियो। नेकपा एमाले सम्बद्ध नेता तथा कार्यकर्ताहरूले प्रमुख अतिथि एवं पूर्व उपप्रधानमन्त्री श्रेष्ठलाई समुद्वघाटन स्थलमा कालो झण्डा देखाउने कार्यक्रमको प्रचारबाजी गरेको भएपनि त्यस्तो कुनै गतिविधि नगरेको नेपाली कांग्रेस भीरकोटका नगर सचिव नन्दलाल खनालले जानकारी दिनुभयो।