आँधीखोलाको ओहियामा बृहत् निःशुल्क स्वास्थ्य शिविर

बैशाख ०५, २०८१


राम बहादुर रोकाहा, स्याङ्गजा
५ वैशाख २०८१

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. २ ओहियामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट डेढ सय बढी लाभान्वित भएका छन् ।

स्थानीय प्रगतिशील युवा क्लबको आयोजनामा सोमबार भएको शिविरमा सम्पूर्ण चिकित्सकीय सुविधा र औषधिको प्राविधिक सहयोग पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलले गरेको थियो ।

चरकले यसअघि दर्जनौँ स्थानमा आयोजित स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरिसकेको छ । गण्डकी प्रदेश अन्तर्गत कास्कीसँगै गोरखा, म्याग्दी, बागलुङ लगायतका स्थानमा पनि पूर्ण निःशुल्क सेवा सहितको प्राविधिक सहयोग गरिसकेको प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

ओहियामा सञ्चालित शिविरमा २०० बढीको स्वास्थ्य जाँच गरिएको पिआरओ सोबित सुवेदीले जानकारी दिए ।

वृहत शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, जनरल फिजिसियन, यूएसजी सेवा प्रदान गरिएको थियो ।

विज्ञापन

चरक हस्पिटलका चिकित्सकहरु डा. सन्देशप्रकाश पराजुली (फिजिसियन), डा. प्रिया गुरूङ (स्त्रीरोग विशेषज्ञ), डा. कृष्ण तिमिल्सिना (यूएसजी) ले शिविरमा जाँच गरेका थिए ।

युवा क्लबको आयोजनामा ओहियामा भएको आठौं आँधीखोला ओहिया कप टोल स्तरीय भलिबल प्रतियोगिता तीन दिनसम्म भएको थियो । सोहि अवसरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरबाट रेफर गरिएका बिरामीलाई आगामी उपचारमा चरकले सहुलियत प्रदान गर्ने भएको छ ।