घाँटी पाछेर/चिरिएर दुखेको खण्डमा कोभिड संक्रमण भएको हुनसक्छ।

माघ २२, २०७८


स्वास्थ्य सबैभन्दा ठूलो धन हो।कोरोना महामारीको तेस्रो लहर चलिरहेको यो अवस्थामा हामी कसरी स्वस्थ रहने, सामान्य रूघाखोकी , भाइरल ज्वरो र ओमिक्रोन भेरियन्टका समानता असमानता के के हुन् भन्ने दुविधा हामी सबैलाई हुन सक्छ।यसैगरी हाम्रो नाक, कान, घाँटी कसरी स्वस्थ राख्नुपर्छ भन्ने विषयमा पनि हामी जानकार हुनु आवश्यक छ। कोरोना र नाक, कान, घाँटीको हेरचाहका विषयमा हाम्रा सम्पादक शेखर प्रसाद कोइरालाले स्वास्थ्य क्षेत्रमा करिब २ दशकको अनुभव लिइसक्नुभएका वरिष्ठ नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा. कृष्ण कोइरालासँग कुराकानी गर्नुभएको छ।प्रस्तुत छ डा. कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश:



१) डाक्टर साब, नमस्कार । आरामै हुनुहुन्छ ?
नमस्कार हजुर, आरामै छु।



२) नाक, कान, घाँटी रोग विशेषज्ञको रूपमा कुन कुन स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्छ ?कहिले देखि विशेषज्ञका रूपमा स्वास्थ्य क्षेत्रमा सेवा गरिरहनुभएको छ?
मैले सन् २००३ देखि नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञको रुपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छु । हाल म पोखराको मनिपाल शिक्षण अस्पतालमा नाक, कान, घाँटी विभागको प्रमुखको रुपमा काम गरिरहेको छु भने पोखरा नयाँबजारमा अवस्थित श्री कृष्ण इ एन टी केयर सेन्टरमा नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञको रुपमा सेवा दिइरहेको छु ।

) विश्व कोरोना महामारीको चपेटामा परेको कुरा त सर्वविदितै छ।यसले स्वास्थ्य क्षेत्रमा के कस्ता असरहरू परेका छ्न् ?
कोरोनाले स्वास्थ्य मात्र हैन सबै क्षेत्रमा व्यापक असर पारेको छ । स्वास्थ्य क्षेत्रको कुरा गर्दा राज्यको स्वास्थ्यमा लगानी धेरै बढेको छ, स्वास्थ्यकर्मीहरु संक्रमित हुँदा स्वयं स्वास्थ्यकर्मी तथा बिरामीहरुले पनि यदाकदा उपचारको अभाव झेल्नुपरेको छ भने कतिपय औषधीहरु र मेडिकल सामानको वास्तविक तथा कृतिम अभावले समाजमा झनै असर परेको छ ।

) कोराना महामारी अगाडि र अहिले हजुरको स्वास्थ्य संस्थामा आउने बिरामीहरूमा के कस्तो भिन्नता पाउनुभएको छ ?
कोरोना महामारी र अहिले हाम्रो स्वास्थ्य संस्थाको आउने बिरामीहरुमा खासै भिन्नता त छैन, तर हाल आएर बिरामी तथा सर्वसाधारणमा कोरोना संक्रमणको डर ह्वात्तै घटेको पाइएको छ । सायद अहिले कोरोना विरुद्दको खोप लगाएर होला बिरामीहरुले बढी सचेतना अपनाएको पाइदैन ।
५) कोरोनाका बिरामी र सामान्य रूघाखोकी तथा भाइरल ज्वरोका बिरामीको बीचमा के कस्ता समानता र भिन्नता पाइएको छ ?
कोरोना र सामान्य रुघाखोकी (भाइरल ज्वरो) उस्तै उस्तै प्रकृतिका भएका छन् । अहिले आएर ओमिक्रोन भेरियन्ट हामीले हेरेको बिरामीहरुमा Common Cold & Severe Throat Pain अर्थात रुघाखोकिका बिरामीमा घाँटी पाछेर/चिरिएर दुखेको खण्डमा कोभिड संक्रमण भएको शंका गर्नु पर्छ ।
६) ओमिक्रोनको असर सामान्य रहेको पाइएको छ।तर कोरानाका बिरामीहरूमा यसले पार्ने दीर्घकालीन असरहरू के के हुन् ?
ओमिक्रोनको असर दीर्घकालीन छ वा छैन भन्ने अध्ययन नभएको हुँदा यसबारे अहिले यसै भन्न सकिँदैन । तर Delta र अन्य Variant को संक्रमण पछिको अवस्थालाई Post Covid Syndrome भनिन्छ । यस अवस्थामा सुख्खा खोकी लागिरहने, जीउ कमजोर हुने, स्वास फेर्न गाह्रो हुने झाडा पखाला लाग्ने तथा Depression हुने समस्या लामो समयसम्म रहेको पाइएको छ ।
७) कोरोना महामारीबाट जोगिन के के स्वास्थ्य सजगता अपनाउनु पर्छ ? कोरोना महामारीबाट जोगिन के के स्वास्थ्य सजगता अपनाउनु पर्छ ?
कोरोना महामारीबाट जोगिनको लागिः
-सामाजिक दुरी कायम गर्ने (कम्तीमा १ मिटर) सम्भव भए २ मिटर ।
-मुख र चिउँडो छोपिने गरी मास्क लगाउने ।
-बेला बेलामा साबुन पानीले मिचिमिचि हात धोइरहने ।
-भिडभाड कम गर्ने/भिडभाडमा नजाने ।
-खोक्दा, हाछ्यु गर्दा रुमालले अथवा कुहिनोले नाक-मुख छोप्ने गर्नु पर्छ ।यति गरेमा कोभिड महामारीबाट धेरै मात्रामा बच्न सकिन्छ ।
८) नाक , कान , घाँटी रोगबाट बच्न के कस्ता सावधानी अपनाउनु पर्दछ ?

नाक, काँन, घाँटी रोगबाट बच्नको लागि स्वस्थ जीवनशैली अपनाउने, धेरै चिल्लो, पिरो, अमिलो, चिसो बार्ने, रक्सी, चुरोट, सूर्ती सेवन नगर्ने, धुलो धुवाँ खारबाट बच्ने, नाकबाट पानीको बाफ लिने, चिसो मौसममा मोटरसाइकल चलाउँदा फूल Helmet र Chest Guard लगाउने, कानमा पानी, तेल नपार्ने कान नकोट्याउने र बच्चाहरुलाई सुताएर दुध नखुवाउने इत्यादी सवाधानीहरु अपनाउनु पर्छ ।

९) अन्त्यमा, स्मार्ट अखबार मार्फत जनस्वास्थ्य र महामारीका विषयमा थप के भन्न चाहनुहुन्छ ?
तपाईंहरुलाई धन्यवाद । साथै सबैले आफ्नो तथा अरुको पनि स्वास्थ्यलाई ख्याल गर्दै चाँडै नै महामारीबाट मुक्ति पाउन सकियोस भन्न चाहान्छु ।
(डा. कोइरालालाई टिकटक ( Dr._ Krishna_Koirala _ENT), युट्युब (Dr. Krishna Koirala)र फेसबुकमा (Shree Krishna ENT Care Center) समेत follow गर्न सक्नुहुनेछ।)