वालिङमा मनोसामाजिक अपाङ्गता सम्बन्धी सार्वजनिक बहस

बैशाख १६, २०८०


स्मार्ट संवाददाता, वालिङ
१६ वैशाख

स्याङ्जाको वालिङ नगरपालिकाले मनोसामाजिक अपाङ्गता सम्बन्धी सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी सार्वजनिक बहसमा स्थानीय जनप्रतिनिधी, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

नगरपालिकाको आयोजना तथा अन्तरध्वनी नेपालको सहकार्यमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको हो । बहसमा शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले कानुनले तोकेबमोजिमको परिचय पत्र , सेवा सुविधा र सम्मानित जीवन जीउन पाउनुपर्ने कुरामा जोड दिइएको थियो। सरोकारवालाहरूले संघीयताको कार्यान्वयनसँगै अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षण र सम्मानित जीवनयापनको अवसर प्रदान गर्ने पहिलो दायित्व स्थानीय सरकारको भएको कुरा औल्याइएका थिए।

कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले समृद्ध नगर र सुखी नगरबासी अभियानलाई सफल बनाउन नागरिकको स्वास्थ्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । व्यक्तिगत स्वास्थ्य र आयआर्जन पक्ष सबल नभएसम्म जीवनयापन गर्न गाह्रो हुने उनको धारणा थियो।

हरेक महिनाको ५ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै आइरहेको जानकारी दिँदै उपप्रमुख तिवारीले नगरको कार्यविधिले अपाङ्गता परिचय पत्र वितरणमा असहज भएको अनुभव व्यक्त गरेकी थिइन् । नगरपालिकाले जारी गरेको कार्यविधिलाई परिमार्जन गरेर मात्र अपाङ्गता परिचय पत्र वितरण सहज हुने उनको बुझाइ छ। उनले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारका कार्यक्रममा जोड्ने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।