जनताको विश्वास जित्दै भीरकोट नगर अस्पताल

जेठ २०, २०८१     नारायणप्रसाद कोइराला


स्याङ्जाको भीरकोट नगरपालिकामा संचालित भीरकोट नगर अस्पतालले जनताको विश्वास जित्न सफल भएको छ। अस्पतालमा व्यवस्थापकीय सुधार र स्वास्थ्य बीमा लागू भएपछि सेवाग्राहीको संख्यामा ३ सय प्रतिशत भन्दा  बढीले वृद्धि भएको हो।

आर्थिक वर्ष २०७८/७९ मा अस्पतालबाट २ हजार ४ सय ३९ जनाले मात्रै  सेवा लिएका थिए भने २०७९/०८० मा जम्मा २ हजार ४ सय ५५ जनाले सेवा लिएका थिए। तर आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनासम्म ७ हजार ७ सय ८३ जनाले सेवा लिएको अस्पताल प्रमुख डा. राजिव झाले स्मार्ट अखबारलाई जानकारी दिए। विगतका वर्षहरूमा कमजोर व्यवस्थापनका कारण मासिक सरदर २ सय जना बिरामीले सेवा लिने गरेको अस्पतालमा हाल सरदर ७ सय ८० जनाले सेवा लिएका छन्। अस्पतालमा २०८० भाद्रबाट स्वास्थ्य बीमा लागू भएको थियो। बीमा लागू भएदेखी हालसम्म ३ हजार २ सय १७ जनाले सेवा लिएका छन्।

अस्पतालमा  बहिरंग सेवा,फार्मेसी ,  प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे सेवा, ड्रेसिङ, हड्डी भाँचिएको प्लास्टर ,नेबुलाइजर, सामान्य  शल्यक्रिया , दन्त सेवा, परिवार नियोजन सेवा,गर्भजाँच , प्रसुती सेवा,क्षयरोगको जाँच तथा उपचार सेवा नियमित रूपमा उपलब्ध भैरहेका छन्। यसैगरी २४ सै घण्टा इमरजेन्सी , फार्मेसी र प्रसुती प्रसुती सेवा उपलब्ध छ।

स्थानीय सरकारले संचालन गर्ने  १५ सैयाको आधारभूत अस्पतालमा ३० -३३ जनाको दरबन्दी हुनुपर्ने भएपनि अस्पतालमा २० जना स्वास्थ्यकर्मी एवं कर्मचारी मात्रै कार्यरत  छन्। अस्पतालबाट अर्जुनचौपारी, पुतलीबजार र भीरकोटका जनताले स्वास्थ्य सेवा लिइरहेका छन्। तीनवटै पालिकाको समन्वयमा आवश्यक जनशक्ती थप गर्ने हो र अस्पताल पायक पर्ने तीनवटै पालिकाको स्वास्थ्य बीमाको पहिलो उपचार सेवा केन्द्र भीरकोट अस्पताल हुने हो भने अस्पताल अझै सुदृढ हुने देखिन्छ।