८ सय भन्दा बढी बालबालिकालाई आइपिभी खोप दिइने

जेठ ०९, २०८१     रिबन कुमार विश्वकर्मा


भीरकोट नगरपालिकाका ८ सय भन्दा बढी बालबालिकालाई आइपिभी खोप दिइने भएको छ। २०७३ वैशाख  देखि २०७५ असोज सम्म जन्मिएका ८ सय ७७ बालबालिकालाई आइपिभी खोप दिइने र जेठ १६ देखि २० गतेसम्म खोप अभियान संचालन हुने भीरकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाले जानकारी दिइन्। पोलियो रोगबाट बच्न दिइने यो खोप ७३ सालदेखि ७५ सालसम्म अभाव भएको हुँदा उक्त अवधिमा जन्मिएका सबै बालबालिकालाई अनिवार्य खोप अभियानमा सहभागी गराउन  स्वास्थ्य शाखा प्रमुख सापकोटाले अनुरोध गरेकी छन्।

खोप अभियान संचालन गर्न ३२ वटा खोप केन्द्र कायम गरिएको छ। २२ वटा विद्यालय र १० वटा स्वास्थ्य संस्थालाई  खोप केन्द्र बनाइएको स्वास्थ्य शाखाले जनाएको छ।

खोप अभियानको बारेमा जानकारी दिन र अभियानलाई प्रभावकारी बनाउन अभियानमा सहभागी हुने स्वास्थकर्मी र विद्यालयका शिक्षकहरूलाई अभिमुखिकरण तालिम समेत दिइएको छ। बुधबार दिइएको तालिममा ५४ जना स्वास्थ्यकर्मी र शिक्षकहरूको सहभागिता रहेको थियो।सहभागीहरूलाई जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन मनिष कुमार महतो र कोल्ड चेन फोकल पर्सन रामदेव शाहले प्रशिक्षण दिएका थिए।