आँधीखोला आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
चैत २३, २०८०
२३ चैत्र २०८०, शुक्रबार
लायन्स क्लब अफ पोखरा पेङ्गुइन र स्टार ग्लोरीले स्याङ्जाको आँधिखोला गाउँपालिकामा रहेको आँधीखोला आधारभूत अस्पताललाई स्वास्थ्य सामाग्रीहरू सहयोग गरेका छन्। बिहिबार स्याङ्जाको गाउँपालिकाको वडा नं. ५ को आँधीखोला आधारभूत अस्पताल सेती दोभानमा आयोजित एक समारोहका बिच अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो।
दुई थान रेफ्ररिजेनेटर , पाँच थान व्हिलचियर , दुई थान निडल डिस्पोजल , दुई थान सक्सन मेशिन सहित करिब २ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग साम्रागी वितरण गरिएको लायन्स क्लब अफ पोखरा पेङ्गुइनका अध्यक्ष दिपेश त्रिपाठीले जानकारी दिए ।
अस्पतालको तर्फबाट स्वास्थ्य सामाग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष विश्व पौडेलले सहयोगी संस्थालाई आभार व्यक्त गरेका थिए। अध्यक्ष पौडेलले पालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको बताउँदै अस्पतालको स्वास्थ्य सेवालाई सुदृढ बनाउन र नागरिकको स्वास्थ्य उपचारलाई सहज र प्रभावकारी बनाउन पालिका लागि परिरहेको जानकारी दिए। उनले भने, ” मोटर बाटो दुई किलोमीटर कम होस तर स्वास्थ उपचारमा कुनै कमि हुन दिने छैनौँ।”
स्टार ग्लोरीका अध्यक्ष संगिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका शैलेन्द्र मोहन भट्टराई , अमृत शोभा खत्री , ज्ञान बहादुर राना लगायतले शुभकामना व्यक्त गरेका थिए ।