भीरकोटमा विद्यार्थीहरूका लागि आँखा जाँच शिविर हुँदै

मङि्सर १५, २०८०


१५ मंसिर २०८०, शुक्रबार

स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटमा विद्यार्थीहरूका लागि आँखा शिविर हुने भएको छ। लायन्स क्लब अफ भीरकोटले विद्यार्थीसँग लायन्स कार्यक्रम अन्तर्गत यही मंसिर १६ गतेदेखि १८ गतेसम्म  ३ दिने निशुल्क  आँखा शिविर गर्न लागेको हो।  भीरकोट नगरपालिका वडा नं १ को शिशौघारीमा निशुल्क आँखा शिविर आयोजना गर्न लागिएको शिविर संयोजक प्रदिप आलेले जानकारी दिए।

 लायन्स क्लब अफ भीरकोटको आयोजना  एवम्  भीरकोट नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको समेत सहयोगमा हुन लागेको निशुल्क आँखा शिविरमा विशेषत: विद्यार्थीहरूको आँखाको दृष्टि परीक्षण र निशुल्क औषधि वितरण गरिने आयोजकले बताएको छ। आँखाको थप  उपचार गर्नु परेमा गण्डकी मेडिकल कलेजले विशेष सहुलियत दिने बताइएको छ।

शिविरमा आँखा रोग विशेषज्ञ डा. लक्ष्मी ओली, शुभेच्छा दाहाल र सुरमाया अधिकारीले सेवा दिने र भीरकोटका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको मात्र आँखा जाँच गरिने लायन्स क्लब अफ भीरकोटका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए। भीरकोटको बालमैत्री अभियानमा सहयोग पुगोस भन्ने हेतुले निशुल्क आँखा जाँच शिविर आयोजना गरिएको बताउँदै अध्यक्ष अधिकारीले लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना अनुसार राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको समेत अवसर पारेर बालबालिका र विद्यार्थीहरूलाई लक्षित कार्यक्रम गरिएको बताए।

यही मंसिर  १६ गतेदेखि १८ गतेसम्म भीरकोटमा राष्ट्रपति रनिङ शिल्डको आयोजना गरिएको छ। भीरकोट खेलमैदानमा हुने रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक दिपेन्द्र के.सी. ले स्मार्ट अखबारलाई बताए। पालिकाले पहिलो पटक आफ्नै खेलमैदानमा प्रतियोगिता गर्न लागेकाले विगतका वर्षहरूमा भन्दा व्यवस्थित हुने संयोजक के.सी. ले जानकारी दिए। प्रतियोगिताको समुद्घाटन शनिवार ११ बजे गण्डकी प्रदेशका  उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्यालले गर्ने पालिकाले जनाएको छ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी