भीरकोटमा हरित कृषि पुनर्उत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल परियोजना कार्यान्वयन हुँदै

जेठ ११, २०७९


स्मार्ट अखबार संवाददाता
११ वैशाख २०७९

भीरकोट नगरपालिकामा हरित कृषि पुनर्उत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल परियोजना कार्यान्वयन हुने भएको छ। यस सम्बन्धमा सरोकारवालाहरुसँग कार्यक्रमको जानकारी एवं अभिमुखीकरण कार्यक्रम नगरपालिकाको केन्द्रमा सम्पन्न भएको छ। कार्यक्रम कार्यान्वयन निकायको रुपमा रहेको भीरकोट नगरपालिकालाई उक्त परियोजनामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) ले सहयोगी संस्थाको भूमिका निर्वाह गर्नेछ भने अन्धाअन्धी सामुदायिक विकास केन्दले परियोजना व्यवस्थापन र सहजीकरणमा सहयोग गर्नेछ। आज सम्पन्न भएको उक्त कार्यक्रममा यस परियोजना अन्तर्गत संचालन गरिने क्रियाकलापबारे प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।

यस कार्यक्रममा कृषि उत्पादन र पशुधन (agro production and livestock), उद्यम विकास, उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा नवपर्वतन केन्द्र स्थापना जिविकोपार्जन सुधारको लागि ईको टुरिजम प्रवर्द्धन, प्रशोधन केन्द्र निर्माण, कमजोर एवं विपन्न समुदायको लागि जिविकोपार्जनमा सुधार, माटो परिक्षण केन्द्र स्थापना र सञ्चालन, कृषि क्यालेण्डर प्रकाशन, पोष्टर पम्प्लेट सूचना बोर्ड, मेन्युअल, मिडिया कभरेज, माटो उपचारमा सहयोग, टुरिजम सेन्टर र डेस्टिनेसन वोर्ड आदि कुरा समेटिनेछन।



कार्यक्रममा निवर्तमान नगरप्रमुख छायाराम खनालले आफ्नो कार्यकालमा सम्झौता भएको यस कार्यको सफलताको लागि आवश्यक परेमा आफु हरदम तत्पर रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको उत्तरार्धमा बोल्दै नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले यस कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोगको अपेक्षा रहेको कुरा उल्लेख गर्दै यस परियोजनामा जोडिएका साझेदारी संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो।