वालिङका कृषकलाई हाते ट्याक्टर मर्मतको एडभान्स तालिम

असार २२, २०७९


स्मार्ट अखबार संवाददाता,वालिङ
२२असार २०७९

नगरपालिकाले मात्रै होईन धेरै निकायले प्रविधि हस्तान्तरणको रुपमा हाते ट्याक्टर वितरण गरिरहेका छन् । गाडी रिर्जभ नै गरेर गाँउ-गाँउ पुर्‍याइएका हाते ट्याक्टरहरुमा सानो समस्या आउदा फेरी गाडी रिजर्भ नै गरेर बजार पुर्याउनु पर्ने समस्या थियो । तर अब भने यो समस्याबाट वालिङका कृषकहरुले पार पाउने भएका छन् ।
वालिङ नगरपालिकाका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरिएको छ जसले गर्दा कृषकहरुले गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने भएका हुन् । वालिङ नगर भित्र मात्रै विभिन्न निकायले वितरण गरेका दुई हजार भन्दा बढि हाते ट्याक्टर रहेका छन् । जसको गाँउमा नै मर्मत हुन सके उत्पादनमा लागत कम पर्ने र कृषकहरुलाई पनि सहज हुने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो ।

कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको भन्दै नगर उपप्रमुख कविता तिवारीले अब गाउँ गाउँमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने सक्षम जनशक्ति तयार भएको जानकारी गराउनु भयो । ” गाउँ गाउँमा हाते ट्याक्टर सामान्य समस्याले समेत फालिएका छन् जसको कारण कृषकलाई मार परेको छ। त्यसैले बाहिरबाट दक्ष प्राविधिक बोलाएर तालिम सञ्चालन गरिएको हो ” तिवारीले भन्नुभयो ।

वालिङ नगरपालिकाले युएनडिपी, दियालो तथा व्यवसायीक  तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्याक्टर मर्मतको विशेष तालिम सञ्चालन गरेको हो ।
यसअघि गत महिना ५० जना कृषकलाई प्रारम्भिक हाते ट्याक्टर मर्मत तालिम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । “सबैको ध्यान ट्याक्टर वितरणमा मात्रै गयो मर्मत गर्न सक्ने जनशक्ति बनाउनमा गएन त्यसैले हामीले वितरणसँगै मर्मत गर्न सक्ने जनशक्ति तयार पार्न लागि परेका हौं ” भट्टराईले भन्नुभयो ।
१४ वटै वडाबाट छानिएर आएका १५ जना व्यवसायिक कृषकलाई एड्भान्स तालिम प्रदान गरिएको हो । तालिममा सहभागी भए पछि उत्साहित भएका वालिङ २ का कृषक नीर बहादुर सार्कीले भन्नुभयो , “मेरो घरमा दुई वटा खेत जोत्ने ट्याक्टर सामान्य समस्याले फालिएका छन् ।अब आफैं बनाएर प्रयोग गर्न सक्ने बनाउँछु।” सार्की मात्रै होईन तालिममा सहभागि १५ जना युवा नै आफै ट्याक्टर बनाउन सक्ने भएका छन् ।