भाद्र १६, भीरकोट खबर डेस्क,

भीरकोट नगरपालिकाको स्थानीय पाठ्यक्रम “हाम्रो भीरकोट” विषयको इलेक्ट्रोनिक कपि तयार भैसकेको र छपाई कार्य जारी रहेकाले अबको दुई हप्ता भित्रै विद्यार्थीहरूलाई पुस्तक वितरण गरिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।स्थानीय पाठ्यपुस्तक लेखन सहजीकरणका लागि नगरपालिकाले साभ नेपाललाई जिम्मा दिएको थियो । कोराना महामारीका कारण र प्रक्रियागत कुराहरूले गर्दा केही ढिला भएको स्विकार गर्दै जिम्मेवारी लिएको संस्था साभ नेपालका अध्यक्ष डा. तुलसी प्रवासले अनलाइन कक्षा चलाइरहेका विद्यालयहरूले इलेक्ट्रोनिक कपि प्रयोग गरि शिक्षण सिकाईलाई जारी राख्न समेत अनुरोध गर्नुभएको छ । जिम्मेवारीबोध गर्दा गर्दै पनि पहिलो र नयाँ काम भएको साथै पाठ्यक्रम तयार गर्दा धेरै अध्ययन, अनुसन्धान र सरोकारवालाहरूसँग पनि विधिवत छलफल गरिएको हुँदा समय लागेको कुरा शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले बताउनुभयो ।

आधारभूत तह कक्षा १-८ सम्मका लागि तयार गरिएको स्थानीय पाठ्यक्रम “हाम्रो भीरकोट” भीरकोटका निजी तथा सामुदायिक सबै विद्यालयहरूमा यो वर्षदेखि अनिवार्य विषयको रूपमा अध्यापन गराइने भएको हो । भीरकोट नगरपालिकामा बसोबास गर्ने मानिसहरूको धर्म, संस्कार, संस्कृति एवं प्राकृतिक, धार्मिक र ऎतिहासिक सम्पदाहरूको बारेमा विशेष जानकारीहरू समेटिएको पुस्तकबाट विद्यार्थीहरूले व्यवहारिक र नैतिक शिक्षा पनि प्राप्त गर्नेछ्न् । शिक्षा शाखाका अधिकृत नवीन थापाका अनुसार १०० पूर्णाङ्कको यो स्थानीय विषयवस्तु समेटिएको पाठ्यपुस्तक सबै विद्यार्थीहरूलाई निशुल्क वितरण गरिने छ । भीरकोटका निजी विद्यालयहरूले अनलाइन वा भौतिक उपस्थितिमा केही सिमित विद्यार्थीहरूलाई सहभागी गराएर पहिलो परीक्षा लिएको भए पनि सामुदायिक विद्यालयहरूमा भने शिक्षणसिकाई जारी नै छ । वैकल्पिक सिकाइमा सबै विद्यार्थीहरूलाई समेट्न नसकिएको हुँदा स्थिती सहज भएर भौतिक रूपमा कक्षा संचालन भएपछि मात्रै सबै विद्यार्थीहरू सहभागी गराएर परीक्षा लिइने योजना बनाइएको सामुदायिक विद्यालयहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here