गल्याङमा खाद्य परिकारको महोत्सव आयोजना

माघ २७, २०७९


स्मार्ट संवाददाता, गल्याङ
२७ माघ २०७९

विद्यार्थीको काम पढ्ने मात्र हो भन्ने परम्परागत सोचलाई बदल्दै विद्यार्थीहरूले खाद्य परिकारको महोत्सव आयोजना गरेर अभिभावकलाई आफैंले बनाएका खाद्य परिकार खुवाएका छ्न् । गल्याङको नेपाल राष्ट्र माध्यमिक विद्यालयले लोपोन्मुख स्थानीय परिकार बनाउन सिकाउनुका साथै बजारीकण गर्न समेत सिकाएको छ ।

स्याङ्जाको गल्याङ–७ स्थित नेपाल राष्ट्र माध्यमिक विद्यालयका ६ देखि १२ कक्षासम्मका विद्यार्थीले व्यवहारिक शिक्षा अन्तर्गत विद्यालय परिसरमा खाद्य परिकार महोत्सव गरी आफ्नो क्षमता प्रदर्शन गरेका हुन् । लाेप हुँदै गएका परम्परागत खानेकुरा बनाउने तरिका सिक्न पाउँदा निकै खुशी लागेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी कला पाठक बताउँछिन्।

विद्यार्थीहरु आफैंले बनाएका १६ किसिमका खाद्य परिकारको ९ वटा स्टल राखेर प्रदर्शनी गरिएको थियो । महोत्सवमा कोदोको सेल रोटी, मकैको सेल, वन तरुल, मम, गाजरको हलुवा, खिर, सिस्नोको सुप र पकौडा लगायतका विभिन्न परिकारका स्टलहरु राखिएका थिए । स्थानीय पाठ्यक्रम अनुसार विद्यालयले महोत्सव आयोजना गरेका हुन् । यसले भविष्यमा विद्यार्थीलाई स्थानीय परिकार बनाउन र बजारीकण गर्ने सीपको विकास हुने नेपाल राष्ट्र माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश शर्माले बताए।

महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावक आमा समूह तथा युवा क्लबको बाक्लो उपस्थिति थियो । महोत्सवमा खाद्य परिकार बिक्रीबाट संकलित भएकाे रकम विद्यार्थीको हितमा लगानी गरिने भएकाे छ । शैक्षिक सुधार कार्यक्रमसँगै स्थानीय उत्पादन, ज्ञान, सीप र कला संस्कृति झल्काउने कार्यक्रममा अगाडि बढाउन गल्याङ नगरपालिका र आफू सधैं प्रतिवद्ध रहेको गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले बताए ।