विद्यार्थीले उत्पादन गरेको तरकारी तथा फलफूल प्रदर्शनी, आम्दानी विद्यार्थीकै कोषमा

माघ १९, २०७९


स्मार्ट संवाददाता, गल्याङ
१९ माघ २०७९

बिज्ञापन

स्याङ्जाको गल्याङस्थित एक विद्यालयले कृषि उपजको प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले नै उत्पादन गरेका तरकारी तथा फलफूल राखिएका छन् ।

तरकारी तथा फलफूल कुनै कृषकले फलाएको नभइ स्याङ्जाको गल्याङ नगरपालिका– ११ स्थित बज्रे माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले अतिरिक्त समयमा फलाएका हुन् ।

विद्यार्थीले उत्पादन गरेका तरकारी विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसर पारेर प्रदर्शनी गरिएको हो । यसबाट भएको आम्दानी विद्यार्थीकै कोषमा राखिने र विद्यार्थीकै लागि खर्च गरिने बताइएको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने ६७ विद्यार्थीले ६ वटा टनेलमा तरकारी फलाएका हुन् ।

नेपालमा आर्थिक अभावका कारण विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिका र पढ्दापढ्दै बीचैमा पढाइ छोड्ने बालबालिकाका धेरै छन् । अर्कोतिर प्लस टू नसक्दासम्म घरको काम नै नगर्ने वातावरणमा पढ्ने बालबालिकाको संख्या पनि ठूलो छ । त्यसैले यस्ता कार्यक्रमले विद्यार्थीलाई काम गर्न र उत्पादित वस्तु बिक्री गर्न सिक्ने वातावरण प्रदान गर्नुका साथै विद्यार्थीमा सीप विकास र कामप्रतिको सम्मान बढ्ने विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैरेले बताए।



शैक्षिक पूर्वाधार विकाससँगै शैक्षिक सुधार कार्यक्रम गण्डकी प्रदेशको प्राथमिकतामा रहेको बताउँदै आफू सदैव यसमा लाग्ने गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री सीता सुन्दासले बताइन्।

बज्रे माध्यमिक विद्यालयका विद्यार्थीलाई स्थानीय परिकार बनाउन सिकाउनुका साथै मगर समुदायको भेषभुषा र घरायसी कामका बारेमा विशेष शिक्षा दिइन्छ । यसले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुका साथै उनीहरुलाई आत्मनिर्भर र स्वावलम्बी हुन सिकाएको छ ।