भीरकोट महिला बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

असोज ०८, २०७९


नारायण प्रसाद कोइराला 
८ असोज २०७९

स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश
बिज्ञापन

स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटको एक मात्र महिला सहकारी संस्था भीरकोट महिला बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले ३२ जना शेयर सदस्यबाट १२ लाख ७५ हजार शेयर पूँजी संकलन गरी २०७८ साल बैशाख ९ गते देखि औपचारिक कारोबार सुरू गरेको थियो।भीरकोटका महिलाहरूलाई जागरुक र आत्मनिर्भर बनाई महिला सशक्तीकरण गर्ने उद्देश्यले स्थापना भएको सहकारीको प्रधान कार्यालय भीरकोट नगरपालिकाको हेलु बजारमा रहेको छ। हाल सहकारीमा शेयर सदस्य संख्या ६ सय ६२ जना र जम्मा शेयर पूँजी ९२ लाख ८० हजार ३ सय पुगेको छ।संस्थाले गत आर्थिक वर्षमा ५ लाख २४ हजार मुनाफा आर्जन गरेको छ भने कुल आर्थिक कारोबार ३ करोड ६२ लाख ३२ हजार रहेको छ।यसैगरी सहकारीले यही आर्थिक वर्षमा बयरघारीमा संस्थाको सेवा केन्द्र स्थापना गर्ने भएको छ।

विज्ञापन

साधारणसभाले संचालक समितिका अध्यक्ष चण्डीका सापकोटा अर्याल,उपाध्यक्ष उषा सापकोटा, सचिव सञ्जु पौडेल,लेखा संयोजक शारदा अर्यालले प्रस्तुत गर्नुभएको प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको छ।यसैगरी सभाले शान्ति अर्याललाई संस्थाको कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।

साधारणसभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष चण्डीका सापकोटा अर्यालले संस्था शुभारम्भसँगै विश्वव्यापी रूपमा फैलिएको कोभिड -१९ महामारीको चपेटामा परेपनि संचालनको दोस्रो वर्षमै मुनाफाको अवस्थामा पुर्‍याउन सफल भएको बताउनुभयो।उहाँले संस्थाको भावी कार्ययोजना प्रस्तुत गर्दै निकट भविष्यमै शेयर सदस्यहरूको लागि सस्तो पसल सुरू गरिने बताउनुभयो। यसैगरी अध्यक्ष अर्यालले सहकारीले पशुपालन, उद्योग र व्यवसाय जस्ता उत्पादनमूलक क्षेत्रको लगानीलाई विशेष प्राथमिकतामा राख्ने र शेयर सदस्यहरूको उत्पादन र कृषि उपजको बजारीकरणलाई पनि संस्थाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रममा शुभकामना गर्दै निवर्तमान नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यले सहकारी संचालन गर्न हिम्मत राख्ने महिला दिदीबहिनीहरूको प्रशंसा गर्दै संस्थाको उद्देश्य अनुकुल महिला सशक्तिकरण, शिक्षा, सचेतना र नेतृत्व विकासलाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको थियो।

बिज्ञापन

साधारणसभामा आफ्नो शुभकामना व्यक्त गर्दै निवर्तमान नगर प्रमुख छायाराम खनालले संस्था आफ्नो उद्देश्य अनुकुल अगाडि बढीरहेको पाउँदा खुशी लागेको बताउँदै सहकारीको सिद्धान्तलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न र हरेक कार्यक्रम र उपलब्धिको रेकर्ड राख्न अनुरोध गर्नुभएको थियो। खनालले संस्थाका गतिविधिलाई अझै व्यवस्थित र प्रभावकारी गराउनका संस्थाका सबै समिती र उपसमितिहरूलाई जिम्मेवार र उत्तरदायी ढंगले काम गर्न समेत सुझाव दिनुभएको थियो।

विज्ञापन


कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले सहकारीका आर्थिक गतिविधि संतोषजनक रहेकोमा खुशी व्यक्त गर्नुभएको थियो।उहाँले शेयर सदस्यहरूलाई नियमित बचत गर्न संस्थालाई अझै सुदृढ बनाउन अनुरोध गर्नुभयो। नगर प्रमुख कर्माचार्यले संस्थाको उद्देश्य अनुकुलका महिला सशक्तीकरणका कार्यक्रम संचालन गर्न र आवश्यक पर्ने सीप, क्षमता र तालिम प्रदान गर्न भीरकोट नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा शेयर सदस्य अनिता कोइराला रेग्मी, विष्णुमाया काफ्ले, राष्ट्रिय सहकारी बैङ्क वालिङका प्रतिनिधि विजय रेग्मी, नगर प्रवक्ता दिपेन्द्र के.सी. लगायतका महानुभावहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा भीरकोटको सहकारी अभियानमा विशेष योगदान पुर्‍याउनुहुने निवर्तमान नगर प्रमुख छायाराम खनाल र निवर्तमान नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यलाई सम्मान गरिएको थियो।यसैगरी उत्कृष्ट बचतकर्ता ज्ञानुमाया अर्याल र दिलमाया बस्याललाई पनि सम्मान गरिएको थियो।कार्यक्रमको संचालन संस्थाकी लेखा समिति सदस्य मनिषा कोइरालाले गर्नुभएको थियो।