गल्याङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

असार १८, २०७८


भीरकोट खबर डेस्क

कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित वनेको गल्याङ नगरपालिकामा कोभीड विरुद्धको लडाईमा नेपाल विद्यार्थी संघको साथ भन्ने अभियान सहित गल्याङ नगरपालिकालाई रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आइतवार नेपाल विद्यार्थी संघ गल्याङका विद्यार्थी, काँग्रेसका नेता तथा कार्यकर्ता सहित गल्याङ नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख भुपराज अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य गुरु भट्टराई र नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री युवराज पाण्डेयको अग्रसरता र संयोजनमा पल्स अक्सिमिटर ३ थान, पीपीई सुट ७ थान, डिजिटल थर्मोमिटर ३ थान, चश्मा ५ थान, के एन ९५ सहित सर्जिकल माक्स ८ सय थान, फेस सिल्ड १५ थान, कोभीड संग सम्वन्धित औषधी १ कार्टुन लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस गल्याङका नगर सभापति एव ने.का. महासमिति सदस्य श्याम प्रसाद बस्याल, ने.का. महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ, गल्याङ नपा का प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली कांग्रेस महिला विभाग सदस्य खगिसरा भण्डारी, गल्याङ- ३ का वडा अध्यक्ष महेश भट्टराई, नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्र राना, नेपाली कांग्रेस गल्याङ-४ का वडा सभापति ढाकाराम न्यौपाने, नेपाल तरुण दल गल्याङका अध्यक्ष कृष्ण भट्टराई, ने.वि.संघ पाल्पाका सचिव सुभाष गैह्रे लगायतको उपस्थिति रहेको थियो।