सडक निर्माण भएसँगै गलेमबासीको होमस्टेको सपना साकार हुँदै

जेठ २२, २०८०


२२ जेठ २०८०
युवराज पौडेल, स्याङजा 

भारतीय सेनामा भर्ति भएर क्याप्टेन पदमा अवकाश भई फुर्सदिलो जीवन बिताउँदै गरेका क्या.इन्द्रबहादुर गुरुङ ‘जिमाह’ गाउँमा बस आएकोमा खुसीले गदगद् देखिनुहुन्थ्याे । उहाँले आफ्नो गाउँमा आएका पाहुनाहरुलाई स्वागत गर्नेदेखि पत्रकारहरुलाई गलेमको बारेमा ब्रिफिङ गरिरहनु भएकाे थियाे । उहाँको जन्मघर यहीँ गलेममा छ । गाउँबाट सहर बसाइँ सर्ने क्रम तीव्र हुँदा गुरुङ पनि पोखरेली बासिन्दा हुनुभयाे । उहाँले गाउँको घर पनि सजिसजाउ गरेर होमस्टेका लागि तयार गर्नुभएकाे रहेछ । गाउँको विकटता, सडकको पहुँच नभएका कारण आफूहरु सहरतिर जानुपरेको बाध्यता सुनाउँदै उहाँले अब बाटो राम्रो हुने भएपछि गाउँमै बस्ने र होमस्टेको विकासमा लाग्ने सोच बनाएको सुनाउनुभयाे । उहाँ जस्ता धेरै गलमेबासीहरु जन्मघरको मायाले बेलाबेला पूजाआजा चाडबाडमा गाउँमा जमघट हुन्छन् ।

८४ वर्षीय मेजर दिलबहादुर गुरुङ पहिलोपल्ट आफ्नो गाउँमा बस आएकोमा निकै खुसी देखिनुहुन्छ । सर्केटारी गलेम पञ्चासे सडक ट्रयाक खोल्ने क्रममा समितिको अध्यक्ष भएर भूमिका खेल्नुभएका गुरुङ पनि पोखरामा नै बस्नुहुन्छ ।

त्यस्तै गलेम गाउँकी बुहारी पूजा गुरुङको सपना पनि उस्तै छ । फेदीखोला कार्यपालिका सदस्य समेत रहेकी गुरुङ राम्चे सिल्लो होमस्टेकी संस्थापक अध्यक्ष हुनुहुन्छ । सडकको समस्याका कारण होमस्टे दर्ता गरेर पनि पाहुना नआउने चिन्ताले उहाँलाई निदाउन दिएको थिएन । सडक खनेर बाटो राम्रो बनाएपछि गाउँमा पहिलोपल्ट मिनिबस आउँदा उहाँको मुहारमा कहिल्यैं नदेखिएको खुसी थियो ।

यतिबेला प्रदेशको स्थानीय पूर्वाधार विकासबाट ५० लाख बजेटमा सडक बनाउने काम भइरहेको छ । बाटो सहज भएर पहिलोपल्ट गलेमको गाउँमा बस पुग्दा सबै गाउँलेको खुसीको सिमा थिएन ।

होमस्टेकी अध्यक्ष नानीमाया गुरुङ पनि उत्साहित देखिनुहुन्थ्याे । ‘बजारको कोलाहलभन्दा गाउँको आनन्द बेग्लै हुँदोरहेछ । बाटो आएपछि अब आशा जागेको छ । होमस्टेको विकास र प्रचारप्रसारमा सबै मिलेर लाग्छौं” -उहाले भन्नुभयाे ।

बिज्ञापन


सिद्धार्थ राजमार्ग हुँदै सर्केटारीबाट उत्तर पश्चिमतिरको बाटो हुँदै आरुखर्क, गलेम, राँपु, टुटे र खामोहाले पुग्न सकिन्छ । आरुखर्कसम्मको बाटो राम्रो भए तापनि गलेम भीरको बाटो सजिलो नभएकाले फोरह्विल जिप मात्र कहिलेकाँही हिउँदमा चल्ने गरेका थिए । सिधै पञ्चासे जस्तो धार्मिक स्थलसँग जोडिएको हुनाले पनि यो ग्रामीण सडक महत्वपूर्ण छ ।

समुद्री सतहबाट १७०० मिटरको उचाइमा रहेको गलेम गाउँ मूलतः गुरुङ बस्ती हो । यहाँ कुनै समय ३६० घर थिए । त्यसैले कतिपयले ३६० गलेम गाउँ भन्ने गर्थे । हाल आएर यहाँ ६० घर रहेको होमस्टेका सचिव चेतबहादुर गुरूङ (नौले) ले बताउनुभयो ।

गलेम गाउँ दक्षिण फर्केर बसेको मूलतः गुरुङहरुको गुजुमुज्ज बस्ती हो कहिल्यै गलेम गाउँ नपुगेकाहरका लागि यहाँका भीर देखेर गलेम पनि भीर होला भन्ने मानिसको अनुमान गलेम गाउँमा पुगेपछि गलत सावित हुन्छ । यहाँ बाटोमुनि र बाटोमाथि बस्ती छ । लमतन्न परेको फाँट जस्तो देखिने गलेममा खर्क, चउर, बारी, खरबारी तथा धान खेत छ । यहाँको माटो पनि उर्वर छ । यहाँ मकै, कोदो, कागती, निबुवा राम्रो हुने स्थानीयको भनाइ छ ।

प्रकृति र संस्कृतिले सम्पन्न गलेम आफैमा सुन्दर भएर पनि प्रचारप्रसारको कमी र यातायातको कठिनाइका कारण ओझेलमा परेको बस्ती हो । गलेम गाउँको सिरानमा रहेको ढिकीचौर एकदमै सुन्दर खर्क हो । वास्तवमा यो चउर दृश्यावलोकनका लागि प्राकृतिक भ्यु टावर हो । गलेम गाउँले सिरमा राम्चेदेवीलाई राखेर ढिकीचौरलाई छातीमा सजाएर उत्तरबाट दक्षिणी भूभागलाई हेरेर लमतन्न परेको देखिन्छ । यहाँ कुनै कृत्रिम भ्यु टावर आवश्यक छैन । यहाँबाट वरिपरिका थुप्रै डाँडाकाँडा र बस्तीहरु देखिन्छन् । यहाँबाट अर्जुनचौपारी, दरौ, रापाकोट, स्याङ्जा, पोखरा तनहुँसम्मको दृश्य देखिन्छ । त्यतिमात्र होइन, मौसम खुलेका दिन यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरीलगायतका हिमाली श्रृङ्खलाका लामो लर्कन स्पष्ट देख्न सकिन्छ ।

गलेमको ढिकीचौरमा कुनै समय प्याराग्लाइडिङ हुन्थ्यो तर विविध कारणले त्यसले निरन्तरता पाउन नसकेको इन्द्रबहादुर गुरुङ जिमाहले बताउनुभयाे । ढिकीचौरमा अहिले पनि प्याराग्लाइडिङको सम्भावना जिवीतै रहेको उहाँको भनाइ छ । ‘पहिले एकपटक ढिकीचौरको डाँडाबाट प्याराग्लाइडिङ परीक्षण सफल भएर केही समय चल्छ भन्ने लागेकाे थियाे । अब पुनः यसको सम्भावना खोज्नुपर्छ ।’ गुरुङले बताउनुभयाे ।

यस क्षेत्रको महत्वपूर्ण धार्मिक स्थल राम्चेदेवी मन्दिर र धाम हो । समुन्द्री सतहबाट २१०० मिटरको उचाइमा रहेको राम्चेदेवी मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व छ । यहाँ ठुलो दसैँ र चैते दसैमा पूजा गरिन्छ । बालाचतुर्दशीमा पनि यहाँ सद्बिउ छरिन्छ ।

गलेम गाउँमा सिलो मन्दिर छ । शान्तिस्तुपा भञ्ज्याङ छ । बुद्ध पूर्णिमामा यहाँ पहिले मेला लाग्थ्यो । यहीँ कल्से झरना छ । यहाँ गुरुङ, बाहुन, क्षेत्रीलगायत विभिन्न जातजातिका मानिसहरु भए तापनि मूलत गलेम, राँपु, टुटे, खामोहाले गुरुङ बस्ती नै हुन् ।

मिलेको खेतीयोग्य जमिन, बिचमा बारी र घरहरु, घरहरुमाथि सुन्दर खर्क र खरबारी अझै त्योभन्दा माथि विभिन्न जडीबुटीले भरिपूर्ण हरियो जङ्गलले गलेम दुलहीझै सिँगारिएको देखिन्छ ।

राँपु, टुटे, खामोहाले हुँदै पञ्चासेसम्मको बाटोको ट्रयाक खुलेसँगै सर्केटारीदेखि पञ्चासे जाने छोटो उपयुक्त बाटो यही भएकाले यस क्षेत्रको विकासको ढोका खुलेको फेदीखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष ख्यामबहादुर पौडेलले बताउनुभयाे ।

गलेम होमस्टेका दिदीबहिनीहरुले गलेमलाई मौलिक होमस्टे बनाउने योजना बनाएका छन् । कुनै पनि आधुनिक संरचना बनाउनभन्दा पुराना मौलिक वस्तुहरुलाई संरक्षण र संवर्धन गर्ने उनीहरुको सोच देखिन्छ ।

यहाँ सांस्कृतिक कार्यक्रम गर्नका लागि जनशक्तिकै अभाव छैन । बरु यहाँ सामुदायिक भवन आवश्यक देखिएको छ । अहिलेसम्म सरकारी निकायबाट यो होमस्टेको लागि कुनै पनि रकम छुट्टिएको छैन । गाउँलेहरुको आफ्नै स्रोतबाट होमस्टेका घरहरु तथा अन्य आधारभूत संरचनाहरु बनाएका छन् ।

यस क्षेत्रमा कृषि उत्पादनको सम्भावना छ । व्यवसायिक कृषि र होमस्टेलाई जोडेर पाहुनाहरुलाई घर गाउँका स्थानीय उत्पादन पस्कन सकिन्छ । बजारबाट प्लास्टिकका प्याकेटमा आउने खानेकुरा बन्द गरी गाउँमै फलेका अन्न उपज तथा तरकारीहरु, गाउँमै पालेका कुखुरा, खसी, हाँस आदिलाई होमस्टेमा उपयोग गर्न सकिन्छ ।

उत्पादनका हिसाबले गलेममा अब्बल माटो छ भन्ने कुरा त्यहाँ सप्रिएका मकै र सागसब्जी हेर्दा नै थाहा हुन्छ । कागती, कोदो, सागसब्जी, मकै, धान यहाँका प्रमुख कृषि उपज हुन् ।

गलेम प्रकृतिमात्र होइन, संस्कृतिले पनि सम्पन्न छ । सुनिमाया र ठाडो भाका यहाँ प्रचलित गीत हुन् ।  सुनिमाया गाउँदा गाउँदै रात गएको पत्तो नै नपाउने स्थानीयले बताउनुभयो । हामी राति ९ बजेबाट सुनिमाया गाउन बसेपछि कतिबेला रात गयो थाहै पाइँदैनथ्यो ।

सुनिमाया परापूर्वक कालदेखि नै प्रचलित भाका हो । मेलापर्वमा वा स्थानीय जमघटमा यस्ता गीत गाउने गरेको पाइन्छ । सुनीमाया गीत अझै पनि नबिर्सेका दुई चार जना उमेरले पाकिसकेका बुढाबुढीहरु जम्मा भएर विशेष दिनहरुमा सुनीमाया गाउने गरेको गलेङकी अप्सरा गुरुङले बताउनुभयो ।

तर अहिले बसाइँसराइको प्रभावले गर्दा गाउँबाट धेरै बासिन्दाहरु सहर बजारतिर आकर्षित भएका छन् । यहाँका अधिकांश युवाहरु भारतीय सेनामा जागिरे छन् । कोही बिट्रीस सेनामा पनि छन् । कतिपय अन्य युरोपका विभिन्न  देशमा पुगेका छन् । यहाँका मानिसहरु सुख सुविधा, रोजगार, शिक्षा, स्वास्थ्यको कारण  प्रायः पोखरामा झरेका छन् । कोहि काठमाडौंमा छन् । उनीहरु उतै घर बनाएर स्थायी रुपमै बसेका छन् ।

होमस्टेका लागि आवश्यक संरचना निर्माण गरेर होमस्टे मापदण्ड अनुसार अघि बढिरहेका यहाँका महिला दिदीबैनीहरूको उत्साहले पुरै गाउँमा आशाको सञ्चार  भएको छ । होमस्टे सञ्चालनको अगुवाई गरिरहेकी कार्यपालिका सदस्य पूजा गुरूङ भन्नुहुन्छ- “प्रकृतिले गलेमलाई धेरै दिएको छ । यहाँको आफ्नै मौलिक संस्कृति छ । हामीले त केवल प्रकृति र संस्कृतिलाई मिलाए पुग्छ । होमस्टे र गाउँको विकासमा राजनीति छिर्दैन । हामी सबै राजनीतिभन्दा माथि उठेर एकताबद्ध भएका छौं ।”